लकडाउनपछि बढ्यो ३० प्रकारका तरकारीको मूल्य

४ बर्ष अगाडि

हुन त तीनदिनदेखि काठमाडौंमा तरकारी किन्न सहज छैन तर लक डाउन शुरु भएदेखि ३० प्रकारका तरकारी र फलफूलको मूल्य महंगीएको छ । 

लकडाउनपछि कागती, लौका, बन्दा, गोलभेडा लागयत ३० प्रकारका तरकारीको मूल्य महंगीएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

समितिका अनुसार चैत १० गते सोमबारको तुलनामा आज सबैभन्दा धेरै कागतीको मूल्य महंगिएको छ। सोमबार प्रतिकिलो रु १७५ मा पाइने कागतीको मूल्य बिहीबार ६२.८६ प्रतिशतले बढेर २८५ पुगेको छ । 

डक्टरहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि भिटामिन रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता बढाउनका लागि कागती लगायतका भिटामिन सी पाइने खानेकुरा खान सल्लाह दिएका छन् । सोही कारण कागतीको मूल्य यतिधेरै महंगीएको हुन सक्ने बताइएको छ । 

त्यस्तै दोश्रोमा लौकाको मूल्य ४६ प्रतिशतले बढेर ९५ पुगेको छ । चारदिनअघि लौकाको मूल्य रु ६५ थियो । त्यस्तै बन्दाको २८ प्रतिशत र सानो गोलभेडाको मूल्य २३ प्रतिशत बढेको समितिले जनाएको छ । बन्दाको मूल्य ३५ बाट रु ४५ पुगेको छ भने सानो गोलभेडाको ९५ बाट ११५ पुगेको छ । 

त्यस्तै तराइको गोलभेडा, भारतीय सानो गोलभेडा, नेपाली र भारतीय ठूलो गोलभेडा, स्थानीय काउली, भण्टा, मटरकोसा, टाटेसिमी, परवर, बरेला, स्याउ सुन्तला, काँक्रो, रुख कटहर, चिनीयाँ नासपाती, अदुवा, खुर्सानी, लसुन र सबै प्रकारका माछाको मूल्य महंगिएको छ । 

तर घिरौँला, तनेबोडी र भिण्डीको मूल्य भने केही घटेको छ । 

यसबाहेक आलु, सुकेको र हरियो प्याज, गाजर, मूला, घिउसिमी, तिते करेला, पाकेको र हरियो फर्सि, बकूला, च्याउ, ब्रोकाउली, चुकुन्दर, इमली, तामा, तोफु, गुन्द्रुक, केरा, तरबुजा, भुईँकटहर, हाइब्रीड काँक्रो, मेवा र हरियो धनियाको मूल्य चार दिनको अबधिमा कुनै परिवर्तन आएको छैन । 

तर कालीमाटी तरकारी बजारका उप–निर्देशक विनय श्रेष्ठले भने तरकारी बजारमा तरकारी नै नभित्रिएको कारण मूल्य बढेको बताउँछन् । ‘बजारमा तरकारी जति आउनुपर्ने हो त्यति आइरहेको छैन, त्यसैले सामान्य रुपमा बढेको देखिएको हो’, उनले भने, ‘यस्तो सामान्य तलमाथी त अहिलेमात्र होइन, अरु बेला पनि हुने गथ्र्यो ।’  

अरु सामान्य समयमा देनिक ८ देखि ९ सय टन सम्म तरकारी आउने गरेकोमा हिँजो र आज दुई साढे दुईसय टनमात्र तरकारी आएको उनको भनाई छ । ‘आज त यतिबेलासम्म जम्मा २४३ टनमात्र आएको छ’, उनले भने ‘बजारमा तरकारी कम आउने मात्र होइन आएको तरकारी बिक्री गर्न पनि समस्या छ ।’ कालीमाटीमा आएको सामान मध्ये ८५ प्रतिशत तरकारी मात्र हुन्छ । बाँकी फलफूल र माछा रहने गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया