कोरोनाको त्रासमा पनि मेरियट होटलको जिमखानामा ठूलाबडाकाे भिडभाड: सरकारको निर्णय अटेरी

४ बर्ष अगाडि

काेराेना भाइरस (कोभिड–१९) संक्रमण रोकथामम तथा नियन्त्रणका लागि सरकारले देश लकडाउन गरेकाे अवस्थामा काठमाडाैंकाे पाँचतारे होटल मेरियटले भने सरकारी निर्णयको उलंघन गरेको छ ।

देश लकडाउन गरेर मानिसहरूलाई घर बाहिर ननिस्कन र भिडभाड नगर्न भनेकाे अवस्थामा राजधानीको नक्सालमा रहेकाे साे हाेटलले मानिसहरूकाे भिडभाड बढाएर सरकारकाे निर्देशन उल्लंघन गरेकाे हाे । साे हाेटलमा खुलेकाे जिमखानामा अहिले काठमाडाैंका ठूलाबडाहरूकाे भिडभाड लाग्ने गरेकाे छ । 

अहिले कोरोनाको महामारीको खतरा रहेपछि सबै जिमखानाहरु बन्द रहेको भएपनि सो होटलले भने जिमखाना बन्द नगरेको होटलका एक कर्मचारीले जानकारी दिए ।

‘अहिले सर्वत्र जिमखाना बन्द छ । तर मेरियट होटलमा भने बाहिरका मानिस समेतलाई अनुमति दिएर जिम गर्न दिने गरिएको छ । यो त सरकारी निर्णयको सिधै उलंघन भयो’, ती कर्मचारीले भने । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथामम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायतलाई बन्द गराउने निर्णय गरेकाे थियाे । सोही निर्णय कार्यान्वयनमा गइसकेको अवस्थामा सरकारले कारोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै चैत ११ गते मंगलबारदेखि लकडाउनको निर्णय पनि गरेको छ । 

लकडाउनको क्रममा औषधि उपचार र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारबाट आदेश जारी भएको छ भने अनुमतिप्राप्त र सुरक्षा निकायका सवारीसाधनबाहेक सबैप्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै आन्तरिक व्यवसायिक उडान, साना ठूला व्यवसायलगायत सेवाहरु बन्द गरिएको अवस्था छ । तर होटल मेरियटले भने सरकारी निर्णयको उलंघन गरेर  निर्वाधरुपमा जिमखाना चलाइरहेको पाइएको हो ।

चैत ५ गतेको सरकारी निर्णयको बुँदा नम्बर २ मा स्पष्टरुपमा ‘सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्थक्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिलसम्म बन्द गर्ने’ भनिएको छ । सँगै मंगलबारदेखि लकडाउन भएपछि यो सीमा थप लम्बिएको छ।  तर, होटलले जिमखाना चाउनेमात्रै नभएर कोभिड–१९ सँग बच्नका लागि आवश्यक सावधानी समेत नअपनाएको ती कर्मचारीको भनाइ छ ।

 सरकारी निर्णय कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मा पाएको गृह, संस्कृति पर्यटन तथा नागरिक उडड्यन र सूचना तथा संचार प्रविधि मन्त्रालय भने मेरियटको यो अटेरीपनबारे बेखबर छ ।  

अहिले सो होटलका अधिकांश कर्मचारी काममै छन् भने होटलका मालिक शशीकान्त अग्रवालले आफ्नो कमाउ धन्दा त्याग्न सकेका छैनन् । 

यस विषयमा सम्पर्क गर्दा होटलका एक अधिकारी गौरव अग्रवालले आफूहरुले सरकारको नियम पालना गरेको दावी गरे । तर उनले होटलमा सामान्य व्यायाम गराइएको भने स्वीकारे । ‘होटलका कर्मचारी र पाहुनालाई रिफ्रेस दिन हामीले व्यायाम गराएका हौं, बोर फिल नहोस् भनेर सामान्य एक्ससाइज गराएका हौं’, उनले भने । उनले बाहिरका कसैलाई पनि क्लबमा आउन नदिएको दावी गर्दै भित्र सामान्य शारीरिक व्यायाम गराउँदा पनि तीन फिटको फरकमा दूरी कायम गरिएको बताए । 

उनले भने, ‘हामीले सरकारी आदेश मानेका छौं, होटलभित्रैका कर्मचारीलाई व्यायाम गराएको हो, जुन मानिसहरुले घरमा पनि गर्छन्, त्यसैगरी हामीले गरेका हौं ।’

उनले त्यस्तो बताएपनि सो होटलआसपासका एक स्थानीयले भने होटलमा बाहिरबाट पनि व्यायामका लागि जाने गरेको देखिएको बताए । उनले सुरुमा अग्लो भवन नबनाउन बिरोध गर्दा जबरजस्ती गरिएको र अहिले कोरोनाको महामारीको जोखिम हुँदा पनि मनपरी गरिएको भन्दै आक्रोश पोखे ।

को हुन् शशीकान्त अग्रवाल ?
विवादास्पद व्यापारी अग्रवाल उखु किसानलाई दिनुपर्ने बक्यौता रकम भुक्तानी नदिएर दुःख दिने व्यक्ति समेत हुन् ।

उनैले  विद्यमान सरकारी ऐन कानुनविपरीत सम्बन्धित सरकारी निकायबाट स्वीकृति नै नलिई भारतमा उत्पादित नुनको बिक्री वितरणको प्रयास गरेका थिए । यस्तै उनी चिनीको कालोबजारीका नाइके समेत रहेको आरोप लाग्ने गरेको छ । 

उखु किसानको अर्बौ ठगेर रातारात धनी बनेको र किसानको नाममा लिएको अनुदानको रकमलाई व्यक्तिगत रुपमा होटल र अपार्टमेन्टमा उनले लगानी गरेको बताइन्छ । 

उखु किनासको विकास र वृद्धिमा लगानी गर्ने भन्दै सरकारसँग अर्बौँ रुपैयाँ सहुलियत लिएर उनले सो रकम व्यक्तिगत लगानीमा खर्च गरेको जानकारहरुको भनाइ छ । 

अग्रवालले काठमाडौंमा मात्र दुईवटा होटलमा लगानी गरेका छन् भने नक्सालसहित ठमेलको त्रिदेवीमार्गमा रहेको होटलमा संकास्पद गतिविधि हुने गरेको स्रोतको दावी छ । 

शशीकान्तको लगानीमा रहेको होटलकै कारण विभिन्न समस्या परेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपनि उनले पेलेरै होटल बनाइछाडेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया