रुघाखोकी वा ज्वरोमा मात्र डराउनु पर्दैन, सुख्खा खोकी र स्वास फेर्न अप्ठ्यारो भए जाँच गराउनुस् : मन्त्रालय

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य रुघाखोकी लाग्ने र ज्वरो आउँदैमा नडराउन आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस संक्रमणको सन्त्रास रहेको बेला सामान्य ज्वरो र रुघाखोकी मात्र कोरोनाको लक्षण भनेर नडराउन नेपाली जनतालाई मन्त्रालयले आग्रह गरेको हो । 

‘ज्वरो आउने, सुख्खा खोकी र स्वास फेर्न अप्ठ्यारो भएमात्र कोरोनाको लक्षण हुनसक्छ’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने, ‘सामान्य ज्वरो र रुघाखोकी मात्र लागेमा डराउनु पर्दैन ।’

त्यस्तै मन्त्रालयले नेपालमा कोरोनाको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता देवकोटाले कोरोना संक्रमण पुष्टि भएका दुई जनाको अवस्था सामान्य रहेको र उनीहरु टेकु अस्पतालको आइसोलेनमा रहेको जानकारी दिए । 

उनले अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा मात्रै पोजेटिभ देखिएको र त्यसमा पनि एक जना निको भएर घर फर्किसकेको बताए । 

देवकोटाका अनुसार टेकु अस्पतालको आइसोलेननमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ । जसमध्ये टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतलको आइसोलेनमा ३ जना रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया