अलपत्र  पर्यटकलाई निःशुल्क खाना

४ बर्ष अगाडि

पोखराको लेकसाइडमा  २८ वर्षदेखि  मुनडान्स रेष्टुरेन्ट एण्ड बार सञ्चालन गर्दै आइरहेका युवा पर्यटन व्यवसायी दोर्जे लामाले सरकारले लकडाउनको घोषणा गरेपछि अलपत्र परेका विदेशी पर्यटकलाई निःशुल्क खाना खुवाउन थालेका हुन् । 

लेकसाइडका प्रायः सबै होटल, रेष्टुरेण्ट बन्द भएपछि पोखरा आसपास पदयात्रामा गएका र सीमित आर्थिक खर्च लिएर नेपाल आएका पर्यटक समस्यामा परेको देखेपछि आफूले निःशुल्क खाना खुवाउन थालेको लामाको भनाइ छ । “हामीले नसोचेको निकै कठिन अवस्थामा अहिले हामी गुज्रिरहेका छाँै, यस बेला मानवीयता झन् गुमाउनु हुँदैन, मैले अलपत्र पर्यटकका बारेमा थाहा पाएँ जो खाना खान पाइरहेका छैनन् । रेष्टुरेन्टको पेजबाट निःशुल्क खाना खुवाउने जानकारी गराएँ, त्यसैबाट पर्यटक आउन थाले ।” 

अलपत्र परेकालाई भोजन गराउन दैनिक ११  कर्मचारी खटिएका छन् । मध्यान्ह १२ देखि २ बजेसम्म नेपाली खाना दाल, भात, तरकारी र सलाद दिने गरिएको छ । पूर्ण स्वास्थ्य सतर्कतासहित पर्यटक साबुनपानीले हात धोएर रेष्टुरेण्ट आउँछन् र प्याक गरिएको खाना लिएर गइहाल्छन् । त्यहाँ बसेर खाना खान भने पाइने छैन । 

लामाले भीडभाड हुन नदिन पूर्ण सतर्कता अपनाइएको बताए । उनले लकडाउनको पहिलो दिन ५६, दोस्रो दिन ७८ र तेस्रो दिन ९८  पर्यटकलाई खाना खुवाइएको बताए । तीमध्ये केही पुराना पर्यटक दोहोरिएका र अधिकांश नयाँ  भएको उनको भनाइ छ  । 

लकडाउनको चौथो दिन उनले खाना लिन आउने पर्यटकको नाम, ठेगाना, नेपाल प्रवेश मिति र बसिरहेको होटलका बारेमा अभिलेख गर्न शुरु गरिएको बताए । करीब दर्जन देशका पर्यटक भोजन लिनेमा छन् ।  लामाले भने, “जहिलेसम्म खुवाउन सक्छु, त्यो दिनसम्म खुवाउँछु, नसक्ने दिनदेखि  बन्द गर्छु ।”  यसैबीच पोखरामा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर केही दिनअघि रेवान पोखराले  लेकसाइडमा चार रेष्टुरेण्ट पर्यटकका लागि खोल्ने निर्णय गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया