रुकुम–बागलुङको सिमानामा हेल्प डेस्क

४ बर्ष अगाडि

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट बच्न रुकुम–पूर्व र बागलुङको सिमानामा ‘हेल्प डेस्क’ स्थापना गरिएको छ । दुई जिल्लाको सिमानामा पर्ने तुप भन्ने ठाउँमा रुकुम–पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेको हो ।

तुपमा स्थापना गरिएको हेल्प डेस्कमा जिल्लाबाट बाहिरिने र भित्रिनेलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपाय, यसका लक्षण बारेमा जानकारी गराइने र विदेशबाट जिल्ला भित्रिनेका विवरण सङ्कलन गरिने गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । 

पछिल्लो समय मानिस बागलुङबाट जिल्ला भित्रन थालेपछि दुई जिल्लाको नाकामा हेल्प डेस्क स्थापना गरिएको उपाध्यक्ष शाहीले बताए । ढोरपाटन शिकार आरक्षको क्षेत्र भएकाले लकडाउनको समयमा उक्त ठाउँमा छिटफुट रुपमा देखिने मानिसको चहलपहललाई नियन्त्रण गर्न पनि यस हेल्प डेस्कले सहयोग पुग्ने उनको भनाइ छ ।  

यसैगरी गाउँपालिकाको त्रिवेणी भन्ने ठाउँमा पनि हेल्प डेस्क स्थापना गरिएको छ । विदेशबाट भित्रिएका मानिसलाई एक वडाबाट अर्को वडामा प्रवेश गर्न नदिने र वरपरका मानिसलाई कोरोनाको बारेमा जानकारी गराउने उद्देश्यले त्रिवेणीमा हेल्प डेस्क स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाले दुई हेल्प डेस्कका साथै दुई ठाउँमा हेल्थ डेस्क र एकठाउँमा क्वारेन्टाइनको स्थापना गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया