विदेशबाट आएका सदरमुकाममै १३३ जना

४ बर्ष अगाडि

जिल्लाका सबै स्थानीय तहले वैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्याङ्क सङ्कलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा वैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्याङ्क सङ्कलनका क्रममा शुक्रबार बागलुङमा विदेशबाट आएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छ ।

बागलुङ नगरपालिकामा खाडी मुलुक, युरोप, एशिया तथा अन्य देशबाट आएकाहरुको सङ्ख्या सार्वजनिक गरिएको छ । सेल्फ क्वारेन्टाइनमा बसेर कोरोना भाइरसको सङ्क्रमणको सम्भावना कम गर्न भन्दै नगरपालिकाको स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलनको अभियान थालेको थियो ।

 नगरपालिकामा मात्रै एक सातायता विदेशबाट भित्रिएकाहरुको सङ्ख्या १३३ रहेकोे छ । स्वास्थ्य कार्यालय बागलुङले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नगरमा सबैभन्दा धेरै १५ जना बानपा–१२ अमलाचौरका छन् । सबैभन्दा कम वडा नं. १ मा एक जना मात्रै कतारबाट आएका युवा छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि शुक्रबार जिल्लामा विभिन्न क्रियाकलाप भएका छन् । जिल्लाको जैमिनी नगरपालिकामा पहिलो पटक शान्ति माविमा क्वारेन्टाइन निर्माण भएको छ भने चौधरी ग्रुपको सहयोगमा १० थान पीपीई बागलुङ आएका छ । त्यस्तै, मालढुङ्गा, खर्वाङ, भल्कोट र बुर्तिबाङमा रहेका हेल्थ डेस्कमा २०८ जनाको परीक्षण भएको छ । उनीहरुमा कुनै पनि कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गौलोचन सैँजूको संयोजकत्वमा बसेको बैठकले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण, उपचार सम्बन्धमा स्वास्थ्य कार्यालय बागलुङका महामारी कार्यक्रम फोकल पर्सन याम बरालको संयोजकत्वमा जोइन्ट हेल्थ अपरेशन सेन्टर गठन गरिएको छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संयोजक सदस्य रहनेगरी जोइन्ट हेल्थ अपरेशन सेन्टर गठन गरिएको गुरौले बताए ।

यसैबीच बागलुङ नगरपालिकाका युवाहरुले शुक्रबार धौलागिरि अञ्चल अस्पताललाई १३ सेट सुरक्षा सामग्री प्रदान गरेका छन । बानपा–६ का नारायण आचार्यले १० सेट र बानपा–७ का शिव शर्मा गैरेले ३ सेट रेनकोट दिनुभएको हो । उनिहरुले यी सामग्री अञ्चल अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष केवि रानामगरलाई हस्तान्तरण गरे । यी सामग्री स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने समयमा प्रयोग हुने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया