‘रसुवालाई कोरोनाको डर छैन’

४ बर्ष अगाडि

चीनसँग सिमाना जोडिएको जिल्ला भए पनि  हालसम्म रसुवामा कोरोना भाइरसको आशङ्का कहीँ कतै भएको छैन ।  सामान्य परीक्षणका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या पनि  फाटफुट मात्र रहेको अस्पतालले जनाएको छ ।
     
जिल्लामा करीब ४३ हजार जनसङ्ख्या छ । जिल्ला अस्पताल धुञ्चेमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच  चिकित्सक कार्यरत छन् ।
       
 रसुवा अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट  डा अनिलकुमार खरेलका अनुसार जाडोको याम घट्दै गएपछि उपचारमा आउनेको सङ्ख्या कम भएको हो । हाल    जिल्लामा  नौ जना एमबिबिएस चित्सिक कार्यरत छन् ।  तीमध्ये रसुवा अस्पतालमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच जना रहेकाले बिरामीको चाप जति बढे पनि उपचारमा कुनै कमी नआउने डा खरेलले जानकारी दिए ।
           
रसुवाका प्रजिअ अर्जुन भण्डारीले गत माघ १५ देखि चीनसँगको उत्तरी रसुवागढी नाकाबाट केरूङतर्फको आवतजावतमा पूर्ण रोक लगाई बेलैमा सावधानी  अपनाएका कारण  जिल्लाको स्वास्थ्य क्षेत्र सुरक्षित हुँदै आएको चिकित्सक बताउँछन् ।
       
यस्तै दक्षिणी रसुवाको जिबजिबेमा सञ्चालित ग्रामीण अस्पतालमा पनि गर्मीयामको शुरूआतसँगै उपचारार्थ आउने बिरामीको सङ्ख्या घट्दै गएको अस्पतालका मेडिकल अधिकृत डा पंकज लुइँटेलले जानकारी दिए ।
       
ग्रामीण अस्पतालमा दैनिक २५ देखि ३०  सामान्य बिरामी आउने गरे पनि कोरोना भाइरस नियन्त्रणका लागि  सरकारले लकडाउन घोषणा गरेलगत्तै अस्पताल आउने त्यस्ता बिरामीको सङ्ख्या घट्दै गएको डा लुइँटेलले बताए ।
     
 हालसम्म कोरोना भाइरसको आशंका नभेटिएको र यदि त्यस्तो किसिमको  समस्या आइहाले हाल उपभोग गर्दै आएका विभिन्न औषधिबाटै उपचार गरी सबै बिरामीलाई स्वस्थ्य पार्न आफूहरू तयार रहेको कार्यरत चिकित्सक  हरूले जनाएका छन् ।
         
 सरकारको निर्देशन र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पालना गर्दै चिकित्सकद्वारा तोकिएको क्षेत्रमा २४ सै घण्टा सेवा दिइरहेका कारण स्वास्थ्यप्रति रसुवाली नागरिकको मनोबल उच्च रहेको समाजसेवीले बताएका छन् । 
    
 विद्यालय बन्द भएपछि राजधानीमा अध्ययनरत विद्यार्थी र विदेशमा गएका मानिससमेत आफ्नो पुख्र्यौली घरमा फर्किसकेका कारण  उनीहरूको शारीरिक अवस्था कस्तो छ र के कस्तो होला भन्ने चिन्ता थपिएको पश्चिमी रसुवा डाडागाउँका  बासिन्दा बताउँछन् । 
        
उत्तरगया गाउँपालिका वडा नं २ का वडा सचिव आशाकाजी गुरूङले भने बाहिरबाट आएका सबै मानिसको पहिचान भइरहेको र हालसम्म कुनै पनि शंकास्पद नभेटिएको बताए ।
       
सरकारले दिएको निर्देशन  जिल्ला विपद् व्यवस्थापन समितिले तदारूकताका साथ कार्यान्वयन गरी जिल्लाका विभिन्न भागमा आइसोलेशन एवं क्वारेन्टाइन स्थापना र चिकित्सकसमेतको जनशक्ति  तयार गरिसकिएका कारण रसुवामा आत्तिनुपर्ने कुनै अवस्था नभएको रसुवा नागरिक समाजले जनाएको छ ।
        
रोग नियन्त्रणका लागि  सरकारले दिएको आदेश र चिकित्सकले दिएको सुझाव पूर्ण रूपमा पालना गर्नुपर्ने हामी सबैको साझा दायित्व भएकाले विश्वमै भयावह रूप लिइरहेको कोरोना भाइरसबाट बच्न  र  बचाउने कार्यमा  रसुवाका नागरिकले नियम निर्देशन पूर्ण रूपमा पालना गरिरहेको समेत रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया