कोरोना संक्रमित युवती अहिलेसम्म आफ्नै घरमा, सबैजना आफै जोगिनु अनिवार्य

४ बर्ष अगाडि

आज कोरोना संक्रमण भेटिएकी बाग्लुङ्गकी युवती अझैसम्म आफ्नै घरमा रहेको तथ्य सार्वजनिक भएको छ । 

बाग्लुङ्ग नगरपालिका घर भएकी उनी अस्पत्तालमा नबसेर अहिलेसम्म पनि आफ्नै घरमा रहेको धौलागिरी अस्पताल श्रोतले जनाएको छ । 

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी एक युवतीलाई गत चैत १० गते कोरोना संक्रमण पुष्टी भएपछि सो विमानका यात्रु खोज्दै जाँदा उनको पनि स्वाव परिक्षण गरिएको थियो । 

तर ती युवती अस्पतालमा नबसेर बाग्लुङ्ग नगरपालिकामा रहेको आफ्नै घरमा गएको अस्पताल श्रोतले जानकारी दियो । 

गत चैत ४ गते सो विमानबाट नेपाल आउने २ जनामा कारोना संक्रमण पुष्टि भइसकेको छ । जुन विमानबाट  १५८ यात्रु नेपाल आएका थिए । 

बाँकी यात्रुहरुको भने सरकारले अझै खोजी गरिहरको छ । 

चीनमा गत डिसेम्बरमा भेटिएको कोरोनाको संक्रमण अन्य मुलुकमा फैलिरहँदा पनि नेपालमा कुनै सतर्कता नअपनाउँदा अहिले धमाधम संक्रमति भेटिएका छन् । 

सरकारले लामो समयसम्म नाकाहरु बन्द नगर्ने, अन्तराष्ट्रिय उडानहरु निर्वाध रुपमा उडान गर्न दिने, त्यसबाट आएका यात्रुहरुको कुनै परिक्षण नगर्ने लगायतका हेलचेक्र्याईँ गरेको कारण नेपालमा कोरोना संक्रमितहरु गाउँ गाउँ पुगेका छन् । 

विदेशबाट आउनेहरुले पनि आफू सुरक्षित नहुने र समयमै जाँच नगराएकोले आफ्नो परिवार र नजिकका मानिसलाई समेत शसंकित बनाएका छन् । 

अझै पनि विदेशबाट आउनेहरु स्वास्थ्य परिक्षण गर्ने, सेल्फ क्वारेण्टाइनमा बस्ने गरेका छैनन भने विदेशबाट आउनेहरुलाई सरकारले खोजेर स्वास्थ्य परिक्षण गराउन सकेको छैन । 

यो अवस्थामा हरेक मानिस आफ्नो घरभित्रै बसेर सुरक्षित हुनुको विकल्प नरहेको चिकित्सकहरुले बताएका छन् । 

‘सरकार र विदेशबाट आएका संभावित संक्रमितहरुले सुरक्षा र रोकथामको लागि केही पहल नगरेपछि हामी आफै सुरक्षित हुनुको विकल्प छैन’, एक जनस्वास्थ्य अधिकृत भन्छन्, ‘कोही घरबाट बाहिर ननिस्कौं, कसैको सम्पर्कमा नजाऔँ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया