कोभिड १९ :  हटलाइन सेवा शुरु

४ बर्ष अगाडि

टीकापुर नगरपालिकाले कारोना भाइरस ( कोभिड– १९)को जोखिम हुन नदिन हटलाइन सेवा शुरुआत गरेको छ ।  सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न  नगरपालिकाले ०९१−५६००८८ र ०९१ −५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरु गरेको हो ।  शनिबार यहाँ  बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिम विरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ ।  

मुख्य राजनैतिक पार्टीका नेतृत्व सहभागि सो  बैठकले लकडाउनमा  दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ लगायत सरोकारवालासँग समन्वय गर्ने  निर्णय समेत गरेको छ । “ स्वास्थ्य तथा दैनिक उपभोगका वस्तुको समस्या लगायत केही भएमा नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा फोन गर्न म नगरवासीलाई आग्रह गर्दछु । ” नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने । 

बैठकले टीकापुर नगरपालिका अन्तर्गत   सङघ सस्थाले राहत सामग्र्री वितरण लगायत अन्य गतिविधि सञ्चालन गर्दा एकद्वार प्रणालि मार्फत् नगरपालिकासँग समन्वय गरी वितरण गर्ने निर्णय सो बैठकले गरेको छ ।

बैठकले भारत लगायत अन्य मुलुकबाट जिल्लामा आएकालाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न अनुरोध  गर्ने निर्णय समेत गरेको छ ।  “ लकडाउन अघि नगर प्रवेश गरेका सबै नागरिकलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छौं । भोलिदेखि प्रहरीले खोजी गरी क्वारेन्टाइनमा राख्नेछन् । अटेर गर्नेलाई कारवाही हुनेछ ।”  उनले भने । 
नगरपालिकाले रु  ३६ लाख को विपद् कोष समेत खडा गरेको छ । बैठकमा नेकपाका नगर अध्यक्ष खडक शाह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, समाजवादी पार्टीका हरि तिमिल्सेना लगायतका नेताहरु सहभागि थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया