जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड

४ बर्ष अगाडि

लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो । लकडाउन, कफ्र्यू, निषेधाज्ञालगायतका बेला अति जरुरी काम विशेषले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले प्रशासनमा सरकारी कर्मचारी, बिरामी तथा बीचबाटोमा अलपत्र परेकाहरुले पास लिन आउने गरेको बताए । लकडाउनले अन्य सेवा बन्द भए पनि पास लिनेको प्रशासनमा दैनिक भीड लाग्ने गरेको छ । 

बर्दिया राजापुर नगरपालिका–६ मनुवाका ईश्वर शाहीले दुई दिनदेखि प्रशासन धाए पनि पास नपाएको बताए । “जाजरकोटबाट बर्दिया जानका लागि छ दिनअघि सुर्खेत आएको थिएँ, लकडाउनले यतै रोकिएँ, आज फेरि पासकै लागि आएको छु”, उनले भने। 

लकडाउनले यातायात बन्द भएपछि सिकिस्त बिरामीलाई उपचारका लागि लैजान समस्या भएको छ । दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटका ७९ वर्षीय वीरबहादुर महतारालाई किमो चढाउन भरतपुर क्यान्सर अस्पतालमा जानुपर्ने बाध्यता छ । 

चितवनसम्म जाने सवारी पास लिन उनका छोरा डम्बरबहादुर लाइनमा बसेका छन। सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि अन्य दिनभन्दा आज प्रशासनमा पास लिन आउनेको भीड बढेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया