पोखरा महानगरद्वारा ३० सडक बालबालिकाको उद्धार

४ बर्ष अगाडि

 

पोखरा महानगरपालिकाले पोखरामा क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई आज उद्धार गरेको छ । कास्की प्रहरीको सहयोगमा महानगरका सडक बालबालिकाको उद्धार गरिएको हो ।  कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकाले तिनलाई त्यसबाट जोगाउन र संक्रमण फैलिन नदिनका लागि कास्की प्रहरीको सहयोगमा उनीहरुलाई अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्डे«न नेपालको भवनमा राखिएको छ ।  

महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलसहितको टोली लेबाडे नै पुगेर उनीहरुलाई त्यहाँ राख्ने व्यवस्था मिलाएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए  । महानगरले करीब १० दिनलाई पुग्ने खाद्यान्ना साथै बसोबासका लागि आवश्यक शय्याको पनि व्यवस्था मिलाएको  पौडेलले जानकारी दिए ।   कोरोना संक्रमणबाट बचाउनाका साथै उनीहरुलाई परामर्श दिएर समाजमा पुनःस्थापित गर्ने गरी महानगरले सडक बालबालिकालाई उद्धार गरेको  महानगरपालिकाका प्रमुख  जिसीले बताए  । 

उद्धार गरिएका बालबालिकाका अभिभावक वा आफन्तको खोजी गरी उनीहरुलाई परिवारको जिम्मा लगाउने र परिवारको पत्ता नलागेकालाई कसरी समाजमा पुनःस्थापना गर्न सकिन्छ भन्नेतर्फ महानगरले काम गर्ने जिसीको भनाइ छ । ती बालबालिकालाई नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा दिनेछन् । 

उपप्रमुख गुरुङले चिल्डे«न नेपालको भवनमा राखिएका बालबालिकालाई उचित परामर्श दिएर समाजमा घुलमिल गराउन महानगरले पहल गर्ने बताए ।  महानगरले पनि उनीहरुलाई परामर्श दिनको लागि परामर्शदाता व्यवस्था गर्ने उनको भनाइ छ । बालबालिकाको रेखदेखका लागि चिल्डे«न नेपालले पनि दुई जनालाई खटाएको छ । संस्थाका तर्फबाट उनीहरुलाई परामर्श दिइने चिल्डे«न नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया