ऋण लिएर गाडी किनेकाहरू किस्ता तिर्न नसक्ने अवस्थामा, लकडाउनभरी किस्ता स्थगत गर्न माग

४ बर्ष अगाडि

यातायात व्यवसायीहरुले लकडाउन नखुलेसम्म बैंकको किस्ता अनिवार्य नगरिदिने व्यवस्थाका लागि सरकारसँग माग गरेका छन् ।

सवारी साधन पूर्ण रुपमा बन्द भएको हुँदा  बैंकबाट ऋण लिएर गाडि किनेकाहरुले व्याज तिर्न सक्ने अवस्था नरहेकोले लकडाउन अवधिभर किस्ता स्थागित गर्न माग गरेका हुन् । 

यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कोरोना भाइरसको कारण उत्पन्न आर्थिक संकटका कारण  विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋणको किस्ता तिर्न समस्या भएको बताएका छन् । 

ज्ञापनपत्रमा मासिक बैंक किस्ता नियमित रुपमा बुझाउन नबुझाउँदा बैंक ब्याजमा समेत वृद्धि हुँदै जाने भएकाले अहिलेको परिस्थितिमा मासिक बैंक किस्ता अनिवार्य नगरी ब्याज लगायतको हर्जनालाई पूर्ण छुट गर्न माग गरिएको छ । 

व्यवसायीहरुको तर्फबाट महासंघका महासचिव सरोज सिटौंलाले मन्त्रालका सचिव शिशिर ढुङ्गानालाई ज्ञापन पत्र बुझाएका हुन् । 

सरकारले पूर्णतः मुलुक लकडाउन गरेको अवस्थामा मजदुरी गरेर खाने व्यवसायीहरुको आयश्रोतको बाटो गुमेको र सवारी साधन खरिद गर्दा बैंक तथा वित्तिय क्षेत्रबाट लिएको कर्जाको किस्ता समेत चलाउने अवस्था नरहेकोले यस्तो कर्जामा लाग्ने किस्ता बापतको रकम, ब्याज र जरिवाना शुल्क छुट दिन ज्ञापनपत्रमा सरकारसँग माग गरिएको छ ।

दैनिक मजदुरी गरेर खाने व्यवसायीहरुको रोजिरोटी नै गुमेका बेला दैनिक जीवन चलाउन समेत समस्या परिरहेको बेला बैंकको किस्ता र ब्याज चलाउन नसक्ने भएकाले सरकारसँग यस्तो माग गरिएको महासचिव सिटौंलाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया