अमेरिकामा कोरोनाको उपचारमा औलोको औषधी

४ बर्ष अगाडि

अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा औलोविरुद्ध प्रयोग हुने औषधि क्लोरोक्वाइनको प्रयोग गर्न थालेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरिया अर्थात् औलोविरुद्ध प्रयोग हुने औषधि नयाँ कोरोनाभाइरसविरुद्ध पनि प्रयोग गर्न अमेरिकामा स्वीकृति दिइएको बताएका हुन् । 

राष्ट्रपति ट्रम्पले आफ्नो दैनिक पत्रकार भेटघाटमा क्लोरोक्वाईनलाई कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न अमेरिकी खाद्य एवम् औषधि प्रशासन निकाय (एफडीए)ले स्वीकृत गरेको बताएका थिए।

‘हामी त्यो औषधि तत्काल उपलब्ध गराउँछौँ। एफडीएले स्वीकृत गर्ने प्रक्रिया गरिसकेको छ’, उनले भने । 

तर एफडीएले भने क्लोरोक्वाईन कोभिड–१९ विरुद्ध प्रभावकारी हुन्छ कि हुँदैन भनेर अध्ययन भइरहेको जनाएको छ।

नाइजिरियामा ट्रम्पको भनाइपश्चात् यो औषधिको माग धेरै बढेको विवरण आएका छन्। औषधि पसलमा यसको अभाव हुन थालेको बीबीसीले जनाएको छ । 

दशकौंदेखि प्रचलनमा रहेको क्लोरोक्वाइन औलोविरुद्ध प्रयोग गरिने पुरानो र प्रभावकारी औषधि हो । 

अफ्रीकाका कैयौँ ठाउँमा भने यसविरुद्ध औलोका परजीवीले प्रतिरोधी क्षमता विकास गरिसकेको हुनाले यो औषधि अचेल उपयोग गरिँदैन।

केही देशले यसको उपयोगमा नियन्त्रण पनि गरेका छन्। तर अझै पनि सक्रिय निजी औषधि निर्माता रहेका बजारमा यो औषधि निकै चलेको छ।

विज्ञहरुका अनुसार क्लोरोक्वाईन कोरोनाभाइरसका बिरामीहरूलाई सहयोग गर्ने प्रयासको एक पाटो भएको साँचो हो।

यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सूजन कम पार्न सहयोग गर्छ। 

‘प्रयोगशालामा गरिएका अध्ययनहरूमा क्लोरोक्वाईनले कोरोनाभाइरसलाई रोक्ने देखिएको छ। साथै कतैकतै चिकित्सकहरूले यसले काम गरेको पनि बताएका छन्’, बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालहरले बताए।

अहिलेसम्म कोरोना संक्रमणका खास बिरामीहरूमा यसले कस्तो असर पार्छ भनेर पूर्ण ‘क्लिनिकल’ प्रयोग नभएपछि चीन, अमेरिका, यूके र स्पेनमा प्रयोग गर्न थालिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले यसको स्पष्ट प्रभावकारिता थाहा नभइसकेको बताएको छ।

‘काम गर्छ कि गर्दैन भनेर स्पष्ट जान्नका लागि क्लिनिकल ट्रायल गरिनुपर्छ’, अक्स्फर्ड विश्वविद्यालयका ग्लोबल हेल्थ नेटवर्कका निर्देशक प्राध्यापक ट्रुडी लाङ्ले बताए।

४ बर्ष अगाडि

प्रतिक्रिया