काठमाडाैंमा उच्चज्वराेका तीनजना बिरामीकाे मृत्यु, अस्पतालले उपचार गर्न नमानेर अर्का एकजनाकाे ज्यान गयाे

३ बर्ष अगाडि

काठमाडाैंमा कोरोना भाइरस संक्रमको आशंकामा उपचाररत  तीनजनाको  मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा एकजना, काठमाडौंको वीर अस्पत्तालमा दुइ जनाकाे मृत्यु भएको हो । 

चन्द्रागिरी नगरपालिका–१५, तिनथानाकी ३८ वर्षीय पुरूषको वीर अस्पत्तालको आइसोलेसन कक्षमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएकाे छ । 

उनलाई अधिक ज्वरो आएपछि उनलाई भर्ना गरेर राखिएको थियो । 

ज्वरो आएपछि १ साताअघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेका उनलाई अस्पतालले वीरमा रिफर गरेको थियो । तर उनको अहिलेसम्म कोरोना जाँचको रिपोर्ट आइसकेको छैन।

सोमबार मात्रै वीर अस्पताल ५० वर्षीया महिलाको पनि मृत्यु भएको थियो। अस्पतालका अनुसार उनलाई अस्पताल ल्याउँदा ज्वरो आएर सास फेर्न  निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।  उपचारकै क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै कोरोनाका आशंकामा  आईसीयूमा राखिएका धादिङ्गका एक पुरुषको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । 

केही दिनअघि अस्पतालमा भर्ना भएका थिए भने ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंका गरिएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बताए । 

कोरोना संक्रमण भए नभएको नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि उनको रिपोर्ट भने आइसकेको छैन । 

यस्तै कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले काठमाडौं पठाएका वीरगंजका एक युवाको पनि मृत्यु भएको छ । 

कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका व्यक्तिलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

नेशनल मेडिकल कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको भएपनि उनको बाटैमा मृत्यु भएकोले शिक्षण अस्पताल लगिएको उनका आफन्तहरुले बताएका हुन् । 

थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा घाउ लागेर स्थानीय मेडिकलमा टाँका लगाइएका उनलाई  भोलिपल्टदेखि ज्वरो आउन थालेपछि नेशनल मेडिकल कलेज भर्ना गरिएको थियो । तर त्यहाँ चिकित्सकले उपचार गर्न नमानेको आफन्तले आरोप लगाएका छन् । 

नेशनलपछि नारायणी अस्पतालमा प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए ।

त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्‍याए पनि दुवै अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै विरामीको उपचार गर्न अस्वीकार गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया