विश्वयुद्धकी साक्षी १ सय ८ वर्षीया महिलाको कोरोना भाइस संक्रमणले मृत्यू

४ बर्ष अगाडि

बेलायतकी १ सय ८ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । हिल्डा चर्चिलको शनिबार साल्डफोर्ड नर्सिङ होममा निधन भएको हो, त्यसको केही घण्टाअघिमात्रै उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको थियो ।

 बेलायती सञ्चारमाध्यम गार्जियनका अनुसार उनी ८ दिनपछि १ सय ९ वर्ष हुनेवाला थिइन् । यी महिलाको जन्म १९११ मा बेलायतमा भएको थियो । उनी जन्मिएका ७ वर्षपछि स्पेनिस फ्लु संसारभर महामारीको रुपमा देखिएको थियो र यसबाट उनी पनि संक्रमित भएकी थिइन् । यस महामारीले विश्वभर ५० करोडलाई संक्रमित बनाएको थियो, हिल्डा चर्चितकी १२ महिने बहिनीको महामारीले नै ज्यान लियो । तर उनी बाँचिन । 

उनी १९१८ मा स्पेनिस फ्लु महामारी चल्दा ६ वर्षकी थिइन् । ‘अहिलेसम्म उनले कुनै कुरामा डर रहेको बताएकी थिइनन्,’ उनका नाति एन्थोनी चर्चिलले भने,‘यद्यपी, अहिले कोरोनाबाट उनी त्रसित थिइन् ।’

अन्तिमपटक हजुरआमासँग भेट हुँदा एन्थोनीले कोरोना भाइरसकै विषयमा कुराकानी गरेका थिए । ‘उनले यो भाइरस स्पेनिस फ्लुजस्तै रहेको बताएकी थिइन् । तत्कालीन समय हवाईजहाज थिएन र पनि उक्त भाइरस सबैतिर फैलिएको थियो,’ एन्थोनीले भने, ‘उनी विश्वयुद्धकी साक्षी पनि हुन् । त्यतिबेलाको भयावह अवस्थाबारे पनि हामीलाई बताउँथिन् ।’

४ बर्ष अगाडि

प्रतिक्रिया