एनसेलको इन्टरनेटमा ग्राहक आकर्षण ?

५ बर्ष अगाडि

काठमाडौं–  सन् २०१८ को प्रथम छ महिनामा निजी दूरसञ्चार कम्पनी एनसेलको इन्टरनेटबाट हुने आयमा ३४ दशमलब २ प्रतिशतले वृद्धि भएको एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले जनाएको छ ।

 कम्पनीले टुजि, थ्रिजी र फोरजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार, एनसेलको कुल १ करोड ६४ लाख ग्राहक संख्या रहेको छ र त्यसको ४७ दशमलब ३ प्रतिशत ग्राहकले इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छ ।

  इन्टरनेट सेवा प्रतिस्पर्धी भई शुल्कमा गिरावट आउनु, माग बढ्नु, सेवा विस्तार हुनु र स्मार्टफोन प्रयोगकर्ताहरु बढ्नु लगायतका कारणहरुले गर्दा पछिल्लो वर्षहरुमा सेवा प्रदायक कम्पनीहरुको ग्राहक आधार बढ्नुका साथै यसबाट हुने आम्दानीमा पनि वृद्घि भएको जानकारहरु बताउँछन् । एनसेलको हकमा उसको कुल ग्राहक आधारमा ५८ प्रतिशत ग्राहकले स्मार्टफोन बोक्ने गरका छन् ।

 पछिल्लो वर्षहरुमा डाटा सेवाको माग बढि रहेको आजियाटाको प्रतिवेदनले स्पष्ट देखाउछ । सो प्रतिवेदन अनुसार, सन् २०१८ को दोस्रो त्रैमासिकमा प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत ६९८ एमबि पुगेको छ । प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत सन् २०१७ को दोस्रो त्रैमासिकमा ३४१ एमबि र २०१६ को दोस्रो त्रैमासिकमा १६० एमबी थियो ।

फोरजी सेवा संचालनले पनि डाटा सेवाको माग र खपत बढी रहेको एनसेलले बताउँदै आएको छ । गत वर्ष जेठमा संचालनमा ल्याएको यो सेवा हाल सम्म एनसेलले २१ शहरहरुमा पुर्याई सकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष सम्ममा ११ लाख २३ हजार ग्राहकले एनसेलको फा्रजी सेवा लिएका छन् । त्यसैगरी उसको ४९ लाख ८६ हजार थ्रिजी ग्राहक आधार रहेको छ ।

 कम्पनीले पछिल्लो एक वर्ष देखि फोरजीलाई शहरहरुमा र थ्रिजीलाई ग्रामिण भेगहरुमा विस्तार गर्दै लगिरहेको छ । बढ्दो डाटा खपतसँगै वृद्घि भएको यो सेवाको आयले एनसेलको कुल आम्दानीमा पनि आफ्नो योगदान बढाएको छ ।

  सन् २०१७ को दोस्रो त्रैमासिकमा कुल आयमा डाटा सेवाको आम्दानीको योगदान १८ प्रतिशत रहेकोमा यो सन् २०१८ को सोही अबधिमा कुल आम्दानीमा योगदान २२ प्रतिशत रहेको आजियाटाको उक्त प्रतिवेदनले देखाएको छ । सन् २०१८ को दोस्रो त्रैमासिकमा एनसेलले कुल रु १५ अर्ब २६ करोड आम्दानी गरको छ । यो २०१७ को सोही अबधिको तुलनामा ५ दशमलब ५ प्रतिशतको वृद्घि हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया