मैले पाउनुपर्ने त गिनीजबुकमा नाम हो : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओलीले आफू बिरामी अबस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आफू देश र जनताको लागि खटेकोले यो बेला कसैको मूल्यांकन र जस  लिन भने नखोजेको बताए । 

शनिबार सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री ओलील यस्तो बताएकाे जनआस्थाले लेखेको छ । 

संसारमा दुईपटक सम्म मृगौला प्रत्यारोपण गरेर शासन सत्ता चलाउने कोही व्यक्ति नभएको भन्दै आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए । 

‘मैले केही पनि मागेर हिँडेको त छैन, विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधीहरु दिएका छन् । वास्तवमा मैले पाउनुपर्ने त गिनिज बुकमा नाम हो’, प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री ओलीले यसबारेमा आफूले गुगल सर्च गरेको पनि बताएका छन् । 

 ‘मैले हेरेँ, कुनै पनि देशको सरकार प्रमुख, राष्ट्रप्रमुखका दुई–दुई वटा किड्नी ट्रान्सप्लान्ट भएको रहेनछ’, उनले भने । 

उनले आफूले १८ घण्टा काम गर्दा प्रधानमन्त्री रोगी भएर पनि काम गरिरहेको छ भन्ने गरेको भन्दै  त्यसरी चिन्ता नलिन सुझाव दिए ।

‘मेरो चिन्ता लिनेहरुले किन चिन्ता लिनु पर्यो ?’ उनले भने, ‘सबै मरणशील छन् नि । मैले कसैको मूल्यांकन खोजेको छैन, जस पनि खोजेको छैन । मान्छेहरुमा आफूले आफैँलाई लोकतन्त्र ठान्ने प्रवृत्ति छ । कुठाउँमा बोलेर हिँड्ने  गर्छन् । यसले तिनै व्यक्तिलाई हानी गर्छ, पार्टीलाई केही हानी गर्दैन ।’

उनले आफ्नो मिर्गौला जवान भएको दावी गर्दै आफू त्यो अनुसार हिँड्न नसकेको बताएका छन् । ‘मेरो किड्नी जवान छ, सक्रिय छ’, उनले भने, ‘बरु, त्योअनुसार म हिँड्न सकेको छैन । कहिले प्रेसर बढ्छ, कहिले सुगर बढ्छ ।’

 

 

 

 

 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया