आज ११ बजेदेखि शेयर कारोबार सुरु, कस्तो होला आजको बजार

३ बर्ष अगाडि

काठमाडौं – लकडाउनका कारण बन्द भएको  नेपाली धितोपत्र बजार आज (मङ्गलबार) देखि नियमित सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । तर, सरकारले लकडाउन खुकुलो बनाएसँगै नेपाल स्टक एक्सचेन्जले आज ११ बजेदेखि देखि शेयर कारोबार खुल्ला गर्न लागेको हो । 

केही दिनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन पनि दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो । 

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले शेयर बजारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ । 

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् । 

अहिले बैंकहरुले व्याजदर घटाएका छन्, यो अवस्थामा लगानीकर्ताहरु शेयर बजारतिर आर्कषित हुन सक्ने पनि बताइएको छ । तर, लकडाउनका कारण सुचीकृत कम्पनीको नाफामा असर हुने देखिदाँ लगानीकर्ता शेयर तर्फ नै आर्कषित हुन नसक्ने सम्भावना उत्तिकै छ । यो अवस्थामा बजारमा सप्लाई बढी र डिमान्ड कम हुन सक्ने प्रवल सम्भावना रहेको बताइन्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया