शिक्षककाे मृत्युपछि ३० जनाकाे पीसीआर रिपोर्ट पर्खँदै गुल्मीजिल्लाबासी

३ बर्ष अगाडि

बुटवलमा उपचार गराउ पुगेका गुल्मीका एक शिक्षककाे काेरोना भाइरस संक्रमण भएकाे रिपाेर्टसँगै मृत्यु भएपछि  गुल्मी जिल्लाबासीले कन्ट्र्याक ट्रेसिङकाे आधारमा स्वाव लिइएका ३० जनाको  पीसीआर रिपोर्ट पर्खेर बसेका छन् ।

गुल्मीका मदाने गाउँपालिकाका ६ का शिक्षककाे क्रिमसन अस्पतालमा मृत्यु भएपनि उनकाे निधनकाे कारणका विषयमा परिवार, आफन्त र स्वास्थ्यकर्मीले आशंका व्यक्त गरेपछि गुल्मेलीहरू ३० जनाकाे  पीसीआर रिपोर्ट पर्खेर बसेका हुन् । 

शिक्षकलाई काेराेना संक्रमण देखिएपछि परिवार, स्वास्थ्यकर्मी र सम्पर्कमा रहेका ३० जनाकाे स्वाव संकलन गरिएकाे थियाे ।  जसमध्ये उनकाे उपचार गर्ने अर्घाखाँचिकाे छायाँ मेडिकलका सञ्चालककाे रिपाेर्ट नेगेटिभ आईसकेको छ । 

अब मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने मदाने गाउँपालिका र छिमेकी स्थानीय तहहरूले जनाएका छन् ।      

स्थानीय शिक्षक उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र दोस्रो पटक स्वाब लिइएको स्थानीयवासीको आरोप छ । 

गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टाइनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताए ।

स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रो पटकको स्वाब र उनीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताए । 
    
परीक्षणको दायरा बढाइने     
स्वास्थ्य कार्यालयका अनुसार गाउँका ३० जनाको पिसिआर रिपोर्ट आज साँझसम्म आउँदैछ । स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिको मोबाइलमा समेत रिपोर्टको म्यासेज आउनेछ । उक्त रिपोर्टका आधारमा गाउँपालिकाले परीक्षणको दायरा बढाउने प्रमुख प्रशासकीय अधिृकत सुरेश भण्डारीले बताए ।

 “कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे नै अन्योलमा छौँ”, उनले भने, “स्थानीयको पनि रिपोर्ट पोजेटिभ आएमा परीक्षणको दायरा बढाउने तयारीमा छौँ ।”     
त्यसका लागि आवश्यक किटको व्यवस्था गर्ने आश्वासन प्रदेश र संघीय सरकारबाट आएकाले किटको अभाव नहुने उनले बताए । 

अहिले गाउँपालिकालाई पूर्ण रुपमा बन्द गरिएको छ । मानिसलाई घरबाहिर निस्कन तथा हिँडडुल गर्नलाई आजदेखि पूर्णरुपमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिए ।    
 

३ बर्ष अगाडि

प्रतिक्रिया