स्वर्गद्वारीमा काफलमा लकडाउन : ६५ हजार भन्दा धेरै घाटा

३ बर्ष अगाडि

बन्दाबन्दीका कारण स्वर्गद्वारी नगरपालिका–२ नोसकी ५८ वर्षीय टीका सुनारको काफल बिक्री भएको छैन । 

सुनार आफ्नो बारी तथा वनमा भएको काफल टिपेर बजारमा ग्राहक खोज्दै बस्नुहुन्छ तर कोही आउँदैन ।    
    
विगतका वर्षमा बिहान ६ बजे नै काफल टिप्न वनमा जाने सुनार यस वर्ष भने ग्राहक नपाउँदा चिन्तित छन्।

 “नोसका व्यापारीले फोन गरी सुटुक्क मगाउने हुँदा कहिलेकाहीँ दिने गरेकी छु”, पाँच परिवार धान्दै आएकी सुनारले भने “यसपालि त स्वर्गद्वारीमा कोही आएनन्, बिक्री हुने ठाउँ कतै पाइएन ।” 

उनले नोसको तल्लो क्षेत्रबाट चैतदेखि वैशाख र माथिल्लो क्षेत्रबाट वैशाखदेखि असारसम्म काफल टिपी स्वर्गद्वारी आउने भक्तजनलाई बिक्री गर्थे ।    
    
सुनारका श्रीमान् बितेको दुई वर्ष भयो । छोरी, नातिनातिनासहित पाँच जनाको परिवार छ । छोरी भक्तपुरको इँटाभट्टीमा काम गरेर वैशाख १३ गते आएकी छिन् । सुनारको एकल भत्ता र काफल बिक्री नै आम्दानीको स्रोत भएकामा यस वर्ष त्यही पनि रोेकिएपछि समस्या भएको बताउँछन् ।  
    
“गत वर्ष काफल बेचेरै अन्नपात र लत्ताकपडा जोडेकी हुँ”, सुनारले भने, “यस वर्ष परिवारको जिम्मेवारी मेरै काँधमा भयो तर आम्दानी गुम्यो ।” 

गत वर्ष करिब रु ३५ हजारको काफल बिक्री गरेको सुनारको भनाइ छ । नोसका अर्का काफल व्यापारी गङ्गाराम पुनको कथा पनि त्यस्तै छ । दश जना परिवारको मौसमी आयस्रोत काफल नै थियो ।

 गत वर्ष ६५ हजारभन्दा बढीको काफल बिक्री गरेको पुन बताउनुहुन्छ । “वनमा काफल पाकेर चरीले काफल पाक्यो भन्ने सन्देश फैलाउँदै हिँडेको छ”, पुनले भने, “तर बन्दाबन्दीले न बेच्न जान पाइयो, न त सन्देश सुनेर कोही आयो ।”    
    
आफ्नै बारीमा भएका ८० भन्दा बढी बोट र वनको काफलबाट स्वर्गद्वारी, भिङ्ग्री र घोराहीसम्म पु¥याइ वर्ष दिनसम्म खर्चको जोहो गर्नुपर्नेमा बन्दाबन्दीले यस वर्ष आम्दानी गुमेको पुनको भनाइ छ ।

 त्यसैगरी सोही ठाउँकी ६५ वर्षीय लक्ष्मी पुनलाई पनि गत वर्षको यही याममा स्वर्गद्वारी, भिङ्ग्री र घोराहीका बजारमा काफल पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । बारीमा भएका काफलबाटै रु ३५ देखि ५० हजारसम्म आय पु¥यराउने गरेको पुनले बताए । 

“स्वर्गद्वारी मन्दिरमा आउने व्यक्तिले फोन गरी काफल टिपेर ल्याउन भन्नुहुन्थ्यो”, लक्ष्मी पुनले भनिन् , “बन्दाबन्दीले कतै पठाउन पाइएन, बारीमै खेर गयो ।” पुनका अनुसार घोरही बजार पुग्न यातायात नहुने र स्वर्गद्वारीमा पर्यटक नआउँदा काफल बिक्रीमा समस्या भएको हो ।    
    
एक पाथी काफल रु २५० देखि ३०० सम्ममा बिक्री हुन्छ । यहाँ करिब चार हजार ७०० पाथी काफल बिक्री हुने गरेको स्वर्गद्वारी नगरपालिका–२ का अध्यक्ष मीनराज रानामगरले जानकारी दिए। 

स्वर्गद्वारी मन्दिर आसपास र रोल्पाका केही गाउँबाट स्वर्गद्वारीमा काफल बिक्री गर्न ल्याइन्छ ।    
    
काफलबाट वार्षिक मनग्य आम्दानी गर्ने विपन्न परिवारको यस वर्षको आय गुमेको छ । आफ्नो वडाबाट मात्रै करिब ६० परिवारले रु १५ देखि ६० हजारसम्म काफलबाट आम्दानी गरेका थिए ।
 एक सिजनमा करिब रु १२ देखि १४ लाखसम्म गाउँमा काफलबाट आम्दानी हुने गरेको रानाको अनुमान छ । स्वर्गद्वारी मन्दिर क्षेत्र काफलको मुख्य बजार भए पनि बन्दाबन्दीका कारण पर्यटकको आगमन शून्य भएसँगै बिक्री पनि शून्य भएको रानाको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया