कोरोना बीमाको एक महिनाः  १६० हजारले गरे बीमा, साढे ८ करोड बीमाशुल्क संकलन

३ बर्ष अगाडि

काठमाडौं  –  कोभिड – १९ बीमालेखको व्यवसायीक कारोबार सुरु गरिएको एक महिना वितिसक्दा पहिलो हप्तामा १ लाख ५९ हजार ९३६ जनाले कोराना बीमा गरेका छन् । बैशाख ७ गतेदेखि यस बीमाको व्यवसायीक कारोबार सुरु गरिएको थियो । जेठ ८ गतेसम्म आउँदा व्यक्तिगत र पारिवारिक गरि १२ हजार ५७८ ओटा बीमालेख बिक्री भएको छ । उक्त बीमालेख मार्फत यतिका मानिस कोरोना बीमाको दायरामा आएका हुन् । 
नेपाल बीमक संघबाट प्राप्त तथ्यांकअनुसार यतिका मानिसले कोरोना बीमा गर्दा रु. ८ करोड ६१ लाख ४४ हजार बीमाशुल्क संकलन भएको छ । बीमा समितिले बीमक संघसँगको सहकार्यमा बैशाखदेखि यो बीमालेख जारी गरेको थियो । 
त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले आफ्नो लघु बीमा पुल मार्फत गत यो बीमाको व्यवसायीक कारोबार सुरु गरेका थिए । बीमा समितिले लघुबीमा अन्तरगत यो बीमालेख ल्याएको थियो । बीमा कम्पनीहरुले लघुबीमालाई पुल मार्फत सञ्चालन गरेको हुनाले यो बीमा पनि सोही पुल मार्फत सञ्चालन गर्ने सहमति भएको थियो ।  
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापगाईंले यसको पहिलो बीमालेख खरिद गरेका थिए । एक जना व्यत्तिले ५० हजार र १ लाखको बीमांकमा बीमा गर्ने व्यवस्था गरिएको छ । ५०  हजारको बीमा गर्दा ५०० र १ लाखको बीमा गर्दा १००० बीमाशुल्क लाग्नेछ । यद्यपि, परिवारको सामुहिक रुपमा बीमा गर्दा व्यक्ति व्यक्ति ४० प्रतिशत छुट दिइने छ ।
तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै कारोबार गरेको छ । शिखर इन्स्योरेन्सले ३२ हजार ६७ जनाको बीमा गरेर १ करोड ७५ लाख ९३ हजार बढी बीमाशुल्क संकलन गरेको छ । 
दोस्रो नम्बरमा भने सिद्धार्थ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले १३ हजार ४३० जनाको बीमा गरेर ७८ लाख ४९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, तेस्रो न्मबरमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले ६३ लाख ५० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
तर कोरोना संक्रमित झण्डै ५०० पुग्दा पनि अहिलेसम्म बीमा कम्पनीहरुमा दावी भने आएको छैन ।  
यद्यपि, यो व्यवसाय भने सबै बीमा कम्पनीलाई बराबर रुपमा प्रदान गरिने छ । पुल मार्फत गरिएको हुनाले सबै बीमा कम्पनीले यसको बराबर हिस्सा पाउछन् । पुनर्बीमा मार्फत नेपाल रि इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत व्यवासय दिइने छ भने बाँकी रहेको ८० प्रतिशत व्यवसाय २० कम्पनीलाई ४ प्रतिशतका दरले दिइने छ । 
निर्जीवन बीमा कम्पनीहरुले अनलाइन मार्फत यतिका मानिसलाई बीमाको दायरामा ल्याएका हुन् । लकडाउनका  कारण फिल्डमा नै गएर पोलिसी बिक्री गर्न भने सकेका छैनन् । 
यसमा बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पूष्टि हुनासाथ दावी भुक्तानी पाउछन् । यद्यपि, १५ दिनको प्रतिक्षा अवधि भने लागू हुनेछ ।
 

कुन कम्पनीको कस्तो व्यवसाय 

३ बर्ष अगाडि

प्रतिक्रिया