९०% जनतामा विद्युत पहुँच, तर ११७ स्थानीय तह अझै अन्धकारमा

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको फागुनसम्म कुल जनसख्याको ९० प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । तर, अझै पनि ९ नगरपालिका सहित ११७ स्थानीयतहहरु पुर्ण रुपमा विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् । 
त्यसमध्ये पनि कर्णाली र सुदुर पश्चिम प्रदेशका अधिकांश स्थानीय तहहरु विद्युत बिहिन रहेको सरकारले हालै जारी गरेको चालु आवको आर्थिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार प्रदेश नम्बर १ को २४ गाउँपालिकामा अझै विद्युत पुगेको छैन ।सबैभन्दा बढी विकसित मानिएको बागमित प्रदेशमा समेत ८ गाउँपालिकामा अझै विद्युत पहुँच नपुगेको सर्वेक्षणमा उल्लेख छ । 
यसैगरि गण्डकी प्रदेशका ६ र प्रदेश नम्बर ५ को ७ गाउँपालिका पुर्ण विद्युत बिहिन छन् । यस्तै, कर्णाली प्रदेशका ३ नगरपालिका र ३८ गाउँपालिका तथा सुदुर पश्चिम प्रदेशका ६ नगरपालिका र २५ गाउँपालिकामा विद्युत पहुँच पुगेको छैन् । 
तथ्यांकअनुसार ८० नगरपालिका र ६६ गाउँपालिकामा पुर्ण रुपमा विद्युत पुगेको छ । साथै, १९८ नगरपालिका र २९२ गाउँपालिकामा आंशिक मात्रामा विद्युत पहुँच पुगेको छ । 
सरकारका अनुसार गत बर्ष ८८ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको थियो । चालु आवमा थप २ प्रतिशत जनता मात्र विद्युतको पहुँचमा जोडिएका छन् । यद्यपि, अबको दुई बर्ष भित्र सबै प्रदेशलाई पुर्ण विद्युतीकरण गर्ने सरकारको घोषणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया