घरमै पुगेर गर्भवतीको उद्धार

३ बर्ष अगाडि

बाजुराको बडीमालिका नगरपालिकाका नगरउपप्रमुख कविता विष्टसहितको टोलीले घरमै पुगेर गर्भवती महिलाको उद्धार गरेको छ । सोही नगरपालिका वडा नं ९ मार्तडीकी २२ वर्षीया पवित्रा सार्कीको घरमै नगरपालिकाको एम्बुलेन्स लिएर उद्धार गरिएको हो ।  
    
जिल्ला अस्पतालमा शुक्रबार जाँच गर्न गएकी दलित महिला सार्कीलाई जिल्लामा सम्भव नभएपछि धनगढी पठाएपछि आर्थिक अभावका कारण घर लगिएको थियो । सार्कीको परिवारसँग धनगढी जान एम्बुलेन्सको भाडा तिर्न आर्र्थिक नभएपछि घर लगेको बताइएको छ । 
    
नगरपालिकाकै सहयोगमा गर्भवती सार्कीको एम्बुलेन्समार्फत धनगढी पठाइएको वडा नं ८ का वडाध्यक्ष प्रकाश रावलले बताए । उनले सार्कीले योभन्दा पहिला दुईपटक शल्यक्रिया गरेर बच्चा जन्माएकाले जिल्ला अस्पतालले अन्यत्र सिफारिस गरेपछि आर्थिक अभावमा घरमा लगिएको सञ्चारमाध्यममा समाचार आएपछि उद्धार गरिएको वडाध्यक्ष रावलले बताए  । 
    
दुईपटक भन्दाबढी शल्यक्रिया गर्दा निकै जटिल हुने भएकाले सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको जिल्ला अस्पतालका चिकित्सक शेरबहादुर साउदले बताए । 
 
उनले तेस्रोपटक शल्यक्रिया गर्दा रगतको व्यवस्थापन त्यस्तै परे पाठेघर नै फाल्नुपर्ने अवस्था हुनसक्ने भएकाले जिल्लामा बच्चा जन्माउन सम्भव नभएपछि सिफारिस गरेको डा  साउदले बताए । सघन उपचार कक्ष व्यवस्थापन भएको ठाउँमा मात्र सुत्केरी गराउन डा साउदले सुझाव दिएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया