संगीतकार वाजिदको निधन, प्रीति लेख्छिन्, ‘म उसलाई ‘ब्रदर फ्रम अनोदर मदर’ भन्थेँ’

३ बर्ष अगाडि

बलिउडका चर्चित संगीतकार जोडी साजिद वाजिदमध्ये वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि किड्नीको समस्याबाट जुझिरहेका थिए । साथै, उनमा कोरोनाको संक्रमण पनि देखिएको थियो । आइतवार अचानक स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर, उनी बाँच्न सकेनन् । कोरोनाका कारण उनको निधन भएको बताइएको छ ।
 
उनको निधनले बलिउड शोकमा डुबेको छ । भारतीय सेलिब्रेटीहरुले सामाजिक सञ्जालको माध्यमबाट उनलाई श्रद्धाञ्जली दिएका छन् । उनको निधनप्रति शोक व्यक्त गर्दै अभिनेत्री प्रीति जिन्टाले वाजिदलाई दोस्रो आमाबाट जन्मिएको आफ्नो भाई भन्ने गरेको बताएकी छन् । उनले वाजिदको निधनबाट आफू दुखी भएको बताउँदै सँगै विताएका पल सधैं याद गर्ने ट्विटरमा उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘अविश्वसनीय रूपबाट प्रतिभाशाली हुनुको साथै ऊ निकै कोमल र प्यारो पनि थियो । म निकै दुखी छु किनकि मैले आफ्नो प्रिय वाजिदलाई गुड बाई पनि भन्न पाइनँ । फेरि भेट नभएसम्म तिमी र तिमीसँग विताएका पलको म सधैं याद गर्नेछु ।’ प्रीतिसँगै प्रियंका चोपडा, परणिती चोपडा, अरबाज खान, विपशा बासु, सोनु निगम, बरुण धवनलगायत थुप्रै सेलिब्रेटीले संगीतकार वाजिदको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
 
साजिद वाजिद बलिउड सुपरस्टार सलमान खानका विश्वासिला र मनपर्ने म्यूजिक कम्पोजर हुन् । वाजिदले अन्तिम पटक इदमा सार्वजनिक भएको सलमान खानको आवाजमा रहेको ‘भाई भाई’ गीतमा संगीत भरेका थिए । उनले सलमानको १९९८ मा आएको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट कम्पोजरको रुपमा बलिउडमा डेब्यू गरेका थिए । उनको अन्तिम गीत पनि सलमानकै साथ हुनपुग्यो । 
 
फिल्म ‘दबंग ३’ मा समावेश सबै गीत साजिद वाजिदकै कम्पोजिशनमा तयार भएको थियो । वाजिदले सलमान खानका लागि ‘हमका पीनी हे’, ‘मेरा ही जलवा’ जस्ता हिट गीत समेत गाएका छन् । यसका अलावा ‘सोनी दे नखरे’, ‘माशाअल्लाह’, ‘डू यू वन्ना पार्टनर’ उनका ब्लकबस्टर गीतमध्ये हुन् । फिल्म ‘दबंग’ को संगीतका लागि उनलाई सन् २०११ मा फिल्मफेयर पुरस्कारबाट सम्मानित गरिएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया