पूजालाई आकाशको न्यास्रो, इन्स्टामै लेखिन्,‘काठमाडौं आउने हैन, गफ मात्रै ?’

३ बर्ष अगाडि

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रेम अहिले फिल्म क्षेत्रमा ‘ओपन सेक्रेट’जस्तै छ । उनीहरु बिहे गर्ने तयारीसम्म रहेको चर्चा फिल्म वृत्तमा चलिरहेको छ ।
यतिसम्म कि पूजाको बर्थडे मनाउन आकाश घरसम्म पुगे । मिडियामा समेत यो जोडी खुलेर प्रेमको कुरा गर्ने गर्छ । तर, अहिले दुई महिना लामो लकडाउनयता पूजा र आकाश एक अर्कालाई भेट्न पाइरहेका छैनन् । र, एकअर्कालाई भेट्न नपाउँदाको न्यास्रोपन उनीहरु खुलेर सामाजिक सञ्जालमा अभिव्यक्त गरिरहेका छन् ।

हालै पूजाले ल्यापटप हेर्दै मुस्कुराइरहेको एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरिन् र अँग्रेजीमा लेखिन्, ‘तिमी सधँै प्रेम दिएर प्राप्त गर्छौ । हो, तिमी, तिमी मात्रै ?’
आकाश पनि के कम, आफैलाई लेखेजसरी उनले पनि प्रतिक्रिया दिइहाले, ‘तस्बिरमै हो की चित्त बुझाउने ? ’ पूजाले तत्काल जवाफ फर्काइन्, ‘काठमाडौं आउने होइन, गफमात्रै ?’
यो पोस्टमा कतिपय पुजाकै प्रशंसकले कमेन्ट गरेका छन्, ‘डेडिकेट टु आकु दा (आकाश)।’ 
एक प्रशंसक वर्षाले त शुभकामना नै दिएकी छिन्, ‘आकुसँग बिहे गर्नु ल, पुआ ।’
यसले के देखाउँछ भने पूजा र आकाशको प्रेमबारे फिल्म क्षेत्रमात्रै होइन, उनका सारा प्रशंसकहरु नै जानकार छन् । ‘रामकहानी’ फिल्ममा एकसाथ जोडी बाँधेर काम गरेपछि यो जोडीको प्रेमबारे मिडियामा चर्चा सुरु भएको थियो ।

फिल्मको सुटिङ सेटबाट फक्रिएको उनीहरुको प्रेम ‘सम्हालिन्छ कहिले मन’, ‘पोइ प¥यो काले’ लगायत फिल्मसम्म आइसक्दा समेत जारी नै छ ।

तर, स्मरणरहोस्, पूजालाई फिल्म क्षेत्रमा आफ्नो फिल्म चलाउन को–एक्टरसँग अफेयरको हल्ला चलाउने अभिनेत्रीका रुपमा समेत आरोप लाग्ने गर्छ । फिल्ममा आफूसँग लगातार सहकार्य गरिरहेका निर्देशक सुदर्शन थापादेखि अभिनेता प्रदीप खड्कासम्म उनको नाम जोडिएको थियो ।

लकडाउनमा रहेकी पूजा अहिले कोरोना महामारीका कारण समस्यामा परेका फिल्म प्राविधिकहरुको सहयोगमा समेत जुटिरहेकी छिन् । चलचित्र प्राविधिक संघसँगको सहकार्यमा उनले फिल्म प्राविधिकहरुलाई तीन लाख बराबरको खाद्यान्न वितरण गरिन् ।
लकडाउनकै समयमा रवि लामिछाने, दीपकराज गिरी लगायतको सेलिब्रेटीको टोलीसँग डिनर गरेर समेत उनी विवादमा तानिइन् । पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’ गत फागुन–३० मा प्रदर्शन हुने तयारीमा थियो । तर, कोरोना महामारीका कारण यो फिल्मको रिलिज स्थगित भएको छ । अब कहिले रिलिज हुने, कुनै टुंगो छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया