सरकारलाई हलको चाबी बुझाउने उदयको चेतावनी

३ बर्ष अगाडि

फिल्मसँग सम्बन्धित सम्पूर्ण काम रोकिँदा हजारौंको संख्यामा बेरोजगार भएका छन् । तर, नेपाल सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटमा मौलिक फिल्मलाई प्रोत्साहित गर्ने, सातै प्रदेशमा छायांकन स्थल बनाउने र कलाकार संघको भवन निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे पनि कोरोनाका कारण समस्यामा रहेको फिल्म क्षेत्रका कुनै कुरालाई सम्बोधन गरेन ।
 
सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने भएपछि कलाकार संघ दंग छ । तर, फिल्मसँग सम्बन्धित अन्य संघ संस्थाहरु यस वर्षको बजेटले नेपाली फिल्म क्षेत्रलाई कुनै प्रकारको राहत नमिलेको भन्दै गुनासो गरिरहेका छन् । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले बजेटमा सिनेमा हललाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ । 
 
संघका निर्वतमान अध्यक्ष तथा हल सञ्चालक प्रदीप कुमार उदयले आर्थिक वर्ष २०७७र७८ को बजेटमा चलचित्र क्षेत्रलाई अति प्रभावित व्यवसायको रूपमा अन्य व्यवसायलाई जत्ति छुटको दायरामा नराखेकोमा आफू अचम्मित भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले फिल्म क्षेत्रलाई प्राथमिकतामा नराखे हलको चाबी बुझाउने पनि चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘कोरोना महामारीको अति प्रभावित क्षेत्रमा परेका होटल, ट्राभल ट्रेकिङ, यातायात, पर्यटन, हवाई सेवा व्यवसाय जस्तै चलचित्र क्षेत्र पनि हो । अझ चलचित्र क्षेत्र त कोरोना महामारीबाट उन्मुक्ति पाएपछि पनि लामो समयसम्म प्रभावित पर्ने व्यवसाय हो । तर, प्रस्तुत २०७७र७८ को बजेटमा चलचित्र क्षेत्रलाई अति प्रभावित व्यवसायको रूपमा अन्य व्यवसायलाई जत्तिको छुटको दायरामा नराखिएको देख्दा अचम्मित छु ।’
 
चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले प्राथमिकतामा नराखे चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै बेरोजगार हुने र चलचित्र क्षेत्र नै तहसनहस हुने उनको भनाई छ । यसप्रति नेपाली चलचित्र क्षेत्र सचेत रहन जरुरी रहेको बताउँदै निर्माता समेत रहेका उदयले थपे( ‘सरकारले हाम्रो यो कुरा नबुझ्ने हो भने हामी चलचित्र घरहरूमा ताला लगाएर सरकारलाई चाबी बुझाउन बाध्य हुने छौं ।’

३ बर्ष अगाडि

प्रतिक्रिया