भैरहवा नाकाबाट नेपाल आइन् मनिषा

३ बर्ष अगाडि

नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडियाको आँखाको तारो बनेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएकी छन् । लामो समयदेखि माता पितासहित भारतको मुम्बईमा बस्दै आएकी उनी मंगलवार लकडाउनका बीच सडक मार्गबाट नेपाल आएकी हुन् । 
 
कोरोना महामारीका कारण हवाई उडान बन्द भएका कारण उनी निजी गाडीबाटै नेपाल आएकी हुन् । मंगलवार भैरहवा (बेलहिया) नाकाबाट उनी नेपाल प्रवेश गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनको परिवार होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ । उनी लकडाउनको समयमा नेपाल आउनुको कारण भने खुलेको छैन । नेपालको नयाँ नक्सालाई लिएर दिएको प्रतिक्रियाका कारण भारतमा चर्को आलोचना भएपछि उनी स्वदेश फर्किएको हुनसक्ने बुझिएको छ ।  
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि(ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी थिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ तर, उनको यो ट्विट भारतीय मिडियाका लागि सह्यै भएन ।
 
उक्त ट्विट अभिनेत्री मनिषा कोइरालाले चीनको इशारामा गरेको भारतीय मिडियाले दाबी गरेका छन् । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार समेत प्रशारण गरेको थियो । त्यसपछि सामाजिक सञ्जालमा पनि उनीमाथि भारतीय नागरिकहरु जाइलागेका थिए । ‘सौदागर’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘सञ्जु’ हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया