वर्षाले गरिन् उच्च मनोबलका साथ अगाडि बढ्ने निधो

३ बर्ष अगाडि

अभिनेत्री वर्षा राउत विरलै विवादमा तानिएकी छन् । गत वर्ष अष्ट्रेलियामा फिल्म ‘जात्रै जात्रा’ को प्रिमियरमा लगाएको पहिरनका कारण उनी ट्रोलको शिकार भएकी थिइन् । यसले उनलाई एक प्रकारको मानसिक तनाव दिए पनि श्रीमानको साथले चिन्तामुक्त भइन् । तर, यसपटक सीमा विवादको बारेमा दिएको अभिव्यक्ति उनका लागि कहिल्यै नविर्सने क्षण बन्न पुगेको छ ।
 
नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा अभिनेत्री राउतले एक अन्तर्वार्तामा भारत र नेपालका पत्रकारले सीमाको विषयमा झगडा पारिरहेको तर्क गर्दै यस प्रकारको क्रियाकलापले आफूलाई भारतीय साथीहरुसँग फेस गर्न गाह्रो भएको बताएकी थिइन् । यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनलाई भारतको समर्थक रहेको भन्दै गाली गलौचमा उत्रिएका थिए ।
 
भारतलाई लिपुलेक फिर्ता दिएर वर्षालाई भारत लैजान भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले अभियान समेत चलाएका थिए । आफ्नो अभिव्यक्तिलाई लिएर चर्को विरोध र आलोचना भएपछि उनले आत्मआलोचना गर्दै माफी मागिसकेकी छन् । अब, उनी यो घटनालाई पूर्ण रुपमा भुल्न चाहन्छिन् । साथै, उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने उनले निधो पनि गरेकी छन् ।

मंगलवार इन्स्टाग्राममा आफ्नो एक तस्विर पोस्ट्याउँदै उनले लेखेकी छन्, ‘न्यानो माया दिनुहुने सबैलाई नमन गर्न चाहन्छु  । उच्च मनोबल र जिम्मेवारीको साथ आगाडी बढ्ने निधो गरेकी छु ।’ उनको यो स्टाटसमा प्रियंका कार्कीदेखि श्वेता खड्कासम्मले ढाडस दिएका छन् । लकडाउनपछि घरभित्रै सीमित भएकी वर्षाको हातमा अहिले ‘के घर के डेरा’ र ‘दुई नम्बरी’ फिल्म छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया