कर्णालीमा २ सय ७८ पुगे कोरोना संक्रमित, आज थपिए १६ जना संक्रमित

३ बर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ७८ पुगेको छ । बुधबार  थप १६ जनामा पुष्टि भएको समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।  

मंगलबार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्ला र पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा दैलेख, सल्यान र कालिकोटका १६  जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

आज संक्रमण पुष्टि हुनेहरूमा सल्यानको कुमाख गाउँपालिकाका २ जना पुरूष, दैलेखको नौमुले गाउँपालिकाका १ जना पुरूष र नारायण नगरपालिकाका ५ जना पुरूष रहेका छन् । त्यस्तै दैलेखको दुल्लु नगरपालिकाका १ जना पुरूष, कालिकोटको महाबै गाउँपालिकाका २ जना पुरूष र १ बालक, तिलागुफा नगरपालिकाका १ जना पुरूष, पलाता गाउँपालिकाका १ पुरूष रहेका छन् । कालिकोटकै शुभकाफिका गाउँपालिकाका १ पुरूष र सान्नित्रिवेणी गाउँपालिकाका १ जना महिलामा आज संक्रमण देखिएको हो ।

अहिलेसम्म कर्णालीका ६ जिल्लामा संक्रमित भेटिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला र मुगु जिल्लामा कोरोना संक्रमण पुगेको हो । मंगलबारसम्म कर्णालीमा २ सय ६२ जना संक्रमित फेला परेका थिए ।

भने कोरोना संक्रमणबाट कर्णालीमा १ जनाको मृत्यु भइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया