रुकुम घटनाबारे रेखा लेख्छिन्, ‘किशोरीको चरित्रहत्या गरेर न्याय हुन्छ ?’

३ बर्ष अगाडि

अभिनेत्री रेखा थापाले पनि रुकुम घटनाका दोषीमाथि कारबाही र पीडितलाई अबिलम्ब न्यायको माग गरेकी छन् । तर, उनले यस घटनामा जोडिएको किशोरी (सुष्मा मल्ल ठकुरी) को समाजिक सञ्जालमा चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् । यस प्रकारको क्रियाकलापले उत्पीडित वर्गमाथि प्रहार भएको उनको भनाई छ ।
 
उनी फेसबुकमा लेख्छिन्, ‘समाजविरुद्ध अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ? दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइजत गरेर मात्र न्याय पाउने हो र ?  छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ?’
 
उनले अगाडि लेखेकी छन्, ‘समुहमा बाहुन क्षेत्री, जनजाती जो जसलाई गाली गर्नु छ गरे हुन्छ ? एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंसा र प्रताडना दिएको कारण ती किशोरी नदिमा हाम्फालेमा कसले जवाफ दिन्छ ?’ यसले जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने रेखाको जिकिर छ ।

दोषी ठहर भए किशोरीलाई कारबाही हुनुपर्ने बताउँदै अभिनेत्री थापाले दोषी वा निर्दोषको किटान नहुँदै १७ वर्षिय किशोरीलाई मानसिक र सामाजिक उत्पीडनमा पार्न नहुने बताएकी छन् । किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने भए भोली कुनै छोरीले कसैलाई माया नगर्ने उनी बताउँछन् । उनको यो भनाईप्रति कतिले समर्थन जनाएका छन् भने कतिले रेखाकै विरोध गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया