विकास निर्माण र कृषि उत्पादनलाई बढाउनुपर्छ ः महरा

३ बर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादुर महराले अहिलेको परिस्थितिमा विकास निर्माणको कामलाई निरन्तरता दिदै कृषि उत्पादन बढाउनु पर्र्ने बताएका छन्  ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा आँफूले विनियोजन गरेको बजेटबाट निर्माण भइरहेका विभिन्न आयोजनाहरुको निरिक्षण पछि महराले लकडाउनको बीचमा पनि विकास निर्माणलाई रोक्न नहुने धारणा व्यक्त गरेका छन्  । 

‘सामाजिक दूरी कायम गर्दै विकास निर्माणको कामलाई तीब्र रुपमा अघि बढाउनुपर्छ,’ उनले भने , ‘जनस्वास्थ्य, कृषि उत्पादन र विकास निर्माण अहिलेको प्रमुख प्राथमिकता हो ।’

कोरोना भाइरसले विश्वको अर्थतन्त्र धराशायी बनेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले यसबाट विदेशमा लाखौं नेपालीले रोजगारी गुमाउने बताए । 

‘विदेशबाट रोजगारी गुमाएर आएका युवाहरुलाई हामीले कृषि उत्पादनमा जोड्नुपर्छ,’ उनले भने, ‘सम्भावित खाद्य संकट हुन नदिनको लागि अहिले देखि नै कृषि उत्पादनमा ध्यान दिन जरुरी छ ।’

दाङको विकासको प्रमुख आधार कृषि उत्पादन नै भएको उल्लेख गर्दै उनले जमिन बाँझो राख्न नहुने धारणा व्यक्त गरे । 

दाङलाई पश्चिम नेपालको आर्थिक केन्द्र विन्दु बनाउन सकिने उल्लेख गर्दै महराले विकास निर्माणमा सबै दल तथा नेताहरुको साझा प्रतिवद्धता र एकता हुनुपर्ने आवश्यकता औंल्याए  । 

‘यहाँको भौतिक पूर्वाधार विकास, कृषि उत्पादन, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको विकासका लागि सबैको साझा धारणा बन्न जरुरी छ,’ उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिले हामी सबैको प्रमुख कार्यभार हो ।’

महराले आज मात्रै सात ओटा विकास निर्माणका योजनाहरुको अनुगमन गरेका छन् । उनले घोराही १० नारायणपुरमा स्तरउन्नति भइरहेको सडक, वडा नं १२ को निर्माणाधीन खेल मैदान र घोराही १४ को निर्माणाधीन शहरी स्वास्थ्य क्लिनिको भवन निरिक्षण गरेका छन्  ।

यसअघि विहान उनले घोराही १७ को महरा टोल र घोराही १५ को एकान्त टोलमा निर्मानाधीन कालोपत्रे सडकको निरिक्षण गरेका थिए । त्यसैगरी नेत्र–गुम्राहा स्मृति भवन र नेपाल पत्रकार महासंघको निर्मानाधीन भवनको निरिक्षण गरेका छन्  ।

लकडाउनकाबीच विभिन्न स्वास्थ्य सामग्री लिएर दोस्रो पटक दाङ आएका महराले जिल्ला प्रशासन कार्यालय मार्फत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीय तहहरुलाई १० हजार थान मास्क र एक सय थान पिपिई हस्तान्तरण गरेका छन् । त्यसैगरी नेपाल पत्रकार महासंघ दाङमार्फत घोराही, तुलसीपुर र लमही क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुलाई एक हजार तीन सय थान मास्क प्रदान गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया