दलित मुद्दामा गैर–दलित विद्यार्थी नेताहरुको आवाजः रुकुम घटनाको दोषीलाई हदैसम्मको कारवाही होस्

३ बर्ष अगाडि

काठमाडौं –  गैरदलित समुदायका राजनीतिज्ञ तथा विद्यार्थी नेताहरुले जातिय बिभेदका कारण पश्चिम रुकममा भएको नरसंहार घटनाका दोषीहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । साथै, देशभरि जातिय आधारमा दलितमाथि गरिने श्रंखलाबद्ध दमनलाई समेत अन्त्य गर्न राज्यलै नै ठोस कदम उठाउनुपर्ने उनीहरुको भनाइ छ । 
बुधबार नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटले १४ औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा किर्तिपुरमा आयोजना गरेको सडक सभामा उनीहरुले यस्तो बताएका हुन् । साथै, दलित समुदायबाट प्रतिनिधित्व गर्ने विद्यार्थी नेता तथा दलित अधिकारकर्मीहरुले पनि रुकुम घटनाका दोषीहरुलाई कारवाही र पिडित परिवारलाई उचित न्याय दिनुपर्ने बताए । 
कथित उपल्लो जातकी प्रेमिकालाई बिवाह गर्न भनि जादाँ पश्चिम रुकममा  गत जेठ १० गते नवराज विक सहित ६ जनाको हत्या गरिएको थियो । दलितसँग छोरी जाने भइ भनेर केटीको बाबुआमाको नेतृत्वमा नै उक्त घटना भएको बताइन्छ । त्यसपछि उक्त घटनालाई लिएर अहिले देशभर नै विरोध प्रर्दशनी भइरहेको थियो । सोही बिषयमा केन्द्रित रहेर बुधबार किर्तिपुरमा सडक सभा गरिएको थियो ।  
सडक सभालाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का अध्यक्ष ऐन महरले नवराज विक सहित ६ जनाको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने बताए ।  जातिय बिभेद तथा छुवाछुत मानव सभ्यताको कंलक भएको बताउँदै उनले जातिय बिभेद अन्त्य गर्न राज्यले ठोस कदम उठाउनुपर्ने बताए । 
‘जातिय बिभेद तथा छुवाछुत जघन्य अपराध पनि हो । अहिले विश्व अन्तररिक्षमा बसाई सर्ने बिषयमा केन्द्रित छ । तर, नेपाली समाज अझै जातिय बिभेदमा अल्झिएको छ । जुन हामी सबैका लागि बिडम्बना हो,’ उनले भने, ‘सम्झिदा पनि मन भतभती पोल्छ । श्रम चल्छ, पानी चल्दैन । रगत चल्छ, प्रेम चल्दैन । २१ औं शताब्दीको समाजमा पनि यस्तो हुनु दुःखद कुरा हो ।’ 
अब जातिय विभेद तथा छुवाछुत अन्त्य गर्न दलित तथा गैर दलित समुदाय मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘कानुनमा जातिय बिभेद तथा छुवाछुत अन्त्य गर्ने भनेर व्यवस्था गरियो । तर, मानसिक तथा व्यवहारिक रुपमा त्यो अन्त्य हुन सकेन । अब त्यसको विरुद्ध हामी एक ढिक्का भएर अगाडि बढ्न आवश्यक छ ।’
बास्तवमा उत्पीडीत (दलित) समुदायले नै आम मानिसलाई मानव भएर बाच्न सिकाएको उनी बताउँछन् । उनीहलाई सलाम तथा ढोग नै गरेपनि फरक नपर्ने उनको भनाइ छ । ‘परियारले लुगा लगाउन सिकाए, सार्कीले जुता लगाउन सिकाए र विश्वकर्माले बिभिन्न औजार प्रयोग गर्न सिकाए । तर, समाजले उनीहरुलाई नै विभेद गरेको छ,’ उनले भने, ‘अब यस्तो बिभेद शैह्य हुदैन । यसका विरुद्ध अनेरास्ववियूले गम्भिर रुपमा सोचेको छ । जातिय बिभेद सहित सामाजिक विरुद्धको आन्दोलनमा हाम्रो पुर्ण सहयोग छ ।’ यो अभियान उत्पीडन समुदायका मात्र नभएर हामी सबैको भएको उनको भनाइ छ । 
यस्तै, उनले अब समतामुलक र समृद्धि समाजको निर्माण गर्न र आम मानिसलाई न्यायपूर्ण बाच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए । जातिय समनता बिना समृद्धि समाजको परिकल्पना गर्न नसकिने उनको भनाइ छ । 
यस्तै, अनेरास्वियूकी नेत्री सुनिता बरालले रुकुम घटनाको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्नुपर्ने बताइन । उनले भने, ‘अहिले प्रविधिको जमनामा मोवाइल फोन मार्फत नै विश्व पढ्न सकिन्छ । तर, हामी नजिकका साथीलाई न्याय दिन सक्दैनौ । तसर्थ, कुनै पनि हालतमा दोषीलाई कारवाही गर्नुपर्छ ।’
यस्तै, उनले अब जातको आधारमा कुनै पनि व्यक्तिको मुल्यांकन गर्न नुहने बताइन । उनले भनिन्, ‘हामीले लामो आन्दोलन गरेर कानुनमा त अधिकार सुनिश्चित गरियो, तर कार्यान्वयन भएन । अब उक्त अधिकारहरु सुनिश्चित गर्न तथा मानवताको परिचय दिन सबै अभियन्ता भएर हिडौं ।’ 
यस्तै, अनेरास्वियु नेता सुरेन्द्र बस्नेतले दलित समुदायले जातिय समनताको मुद्दा मात्र आवाज नउठाएको बताए । मुलुकमा बिभिन्न परिवर्तनका लागि गरिएका बिभिन्न आन्दोलन तथा जनयुद्धलाई पनि दलित समुदायले नेतृत्व गरेको बताए । उनले भने, ‘दलित समुदायले २००७, २०४७ सालमा भएका सहित बिभिन्न आन्दोलनमा ऐतिहासिक भुमिका निभाए । तर, उनीहरुले अझै न्याय पाउन सकेनन् ।’
हालै रुकुममा भएको घटना पनि मानव सम्यता, सविधान विरुद्ध भएको उनको भनाइ छ । उनले भने, ‘रुकुम घटनाको जति निन्दा गरे पनि पुग्दैन । यसको विरुद्ध अनेरास्ववियू आवाज उठाउन तयार छ ।’ यस्तै, उनले अजित मिजार ढकालको लास पनि बिगत ४ बर्षदेखि न्यायको पर्खाइमा शिक्षण अस्पतालमा रहेको बताए । 
‘अब दलित सवालको झण्डा दलितले मात्र बोक्नु हुदैन । गैर दलितले पनि त्यसमा साथ दिनुपर्छ । साथै, मधेसीको अधिकारका लागि पनि पहाडीहरु लड्नुपर्छ,’ उनले भने, ‘अब यसरी हातमा हात, काधमा काध  मिलाएर अगाडि बढ्दै यो बिभेद विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दछु । 
यस्तै, दलित अधिकारकर्मी सुसिल विकेले पनि रुकममा भएको घटनासँगै कुनै पनि जातिय विभेदको घटना सहन नसकिने बताए । अब राज्यले नै यस्ता घटना हुन नदिने आवश्यक ठोस कदम उठाउन पर्छ ।
कार्यक्रममा अनेरास्ववियू नेता मोति विक, नारायण घर्ती, माधव पन्त, अन्तरपार्टी दलित महिला संजाल किर्तिपुर सचिव मनु विक, नेकपा किर्तिपुर अध्यक्ष विकास महर्जनले पनि रुकुम घटनाको भत्र्सना गर्दै जातिय विभेद अन्त्य गर्नुपर्ने बताए । सडकसभा रवि सेञ्चुरीको अध्यक्ष र रामलाल राजवंशी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया