चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

३ बर्ष अगाडि

फिल्म निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।
 
बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो ।
 
नवनियुक्त बोर्ड अध्यक्ष दाहाललाई नजिकबाट चिन्दा 

 
चलचित्र विकास बोर्डको अध्यक्षमा २ वर्षका लागि नियुक्त भएका निर्देशक दयाराम दाहाल २०४५ सालमा निर्मित फिल्म ‘लाहुरे’ को पोस्ट प्रोडक्सनमार्फत् फिल्म क्षेत्रमा भित्रिएका थिए । फिल्म ‘दाइजो’ बाट निर्देशकिय यात्रा सुरु गरेका उनले अहिलेसम्म ४० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । नेपाली फिल्ममा सफल निर्देशकको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । 
 
दशक अगाडि निर्देशक दाहालले निर्देशन गरेका प्रायः फिल्मले हलमा ५१औं र १००औं दिन मनाउन सफल छन् । विवादरहित फिल्मकर्मीको रुपमा चिनिने उनको पछिल्लो रिलिज फिल्म ‘रानी’ हो भने प्रदर्शनको पखाईमा फिल्म ‘लैबरी लै’ रहेको छ । उनले ‘दौँतरी’, ‘ठुल्दाइ’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘म तिमी विना मरिहाल्छु’, ‘दैव’ लगायत थुप्रै सुपरहिट फिल्म दिएका छन् ।
 
३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय दाहालमा कलाकारिताप्रति सानैदेखि लगाव थियो । उनी निर्देशनमा होमिनुभन्दा अगाडि २०४१ तिर रेडियोमा गीत गाउन, नाटक गर्न जाने गर्दथे । जन्मथलो काभ्रेबाट धाएरै उनले रेडियो नेपालको चौतारी, बाल कार्यक्रममा गीत समेत गाउँदथे । ०४३ सालमा एसएलसी पास गरेर काठमाडौं छिरेपछि भने उनलाई निर्देशनतर्फ रुचि बढेको थियो ।
 
आफ्ना सृजनाबाट दर्शकको विश्वास जित्न सफल निर्देशक दाहालको चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल कति सम्झनलायक रहनेछ त्यसको समीक्षा पदमुक्त भएपछि अवश्य होला । तर, यो संकटको समयमा बोर्ड अध्यक्षमा नियुक्त भएका निर्देशक दाहालको सामु चुनौतीका विशाल पहाडहरु उभिएका छन् । उनको कार्यकाल फिल्म क्षेत्रले सधैं सम्झिरहने बनोस्, शुभकामना ।

३ बर्ष अगाडि

प्रतिक्रिया