उद्योग व्यवसायका लागी भोलीदेखि लकडाउनको मोडालिटी परिवर्तन हुने

३ बर्ष अगाडि

लकडाउनका कारण लामो समयदेखि बन्द भएका उद्योग व्यवसाय सहज रुपमा चलाउन दिनका लागि सरकारले आइतबारदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज शनिबार मोडालिटी तयार गरी भोलीदेखि उद्योग व्यवसाय चल्न सहज वातावरण बनाउने बताएका हुन् । 

यसका लागि शुक्रबार  विभिन्न व्यवसायिक संस्थाका प्रतिनिधि र उद्योगमन्त्री भट्टबीच छलफल भएको थियो । 

छलफलमा निजी क्षेत्रले  लकडाउनले उद्योग व्यवसाय तहसनहस भएको र रोग भन्दा पनि भोकले ठूलो संकट ल्याउने भन्दै  भारत, श्रीलंका र बंगलादेशको जस्तै मोडलमा लकडाउन खुकुलो बनाउन सुभाव दिएका थिए । 

उनीहरुको सुझाबलाई समेत लिएर मन्त्रालयले आज ठोस प्रस्ताव प्रधानमन्त्रीसँग पेश गर्ने तयारी छ । ‘उहाँहरुले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयले बनाएको गाइडलाइन मानेर उद्योग व्यवसाय संचालन गर्ने पक्षमा हुनुहुन्छ। 

हामीले पनि उद्योग व्यवसाय संचालन गर्नदिने गरि प्रक्रिया अगाडि बढाउन खोजिरहेका छौ,’ भट्टले भने, ‘शनिबारसम्म ठोस प्रस्ताव पेश गरेर आइतबारसम्म केही निर्णय लिनेछौं।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल साना तथा घरेलु उद्योग महासंघ लगायतका प्रतिनिधी सहभागी थिए।

उनीहरुले लकडाउन लम्ब्याउने हो भने अब रोगले होइन भोकले धेरैको ज्यान जान सक्ने भन्दै सरकारले गम्भिर रुपमा लिएर उद्योग व्यवसाय संचालन हुने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका थिए । 

क्षेत्र तोकेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने  उनीहरुको सुझाव छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया