पर्यटकीय क्षेत्र विस्तारका लागि पदमार्ग निर्माण

३ बर्ष अगाडि

पर्यटकीय क्षेत्रको विस्तार गर्दै पर्यटकलाई आकर्षित गर्न नवलपरासीको कावासोती नगरपालिकामा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा पदमार्ग निर्माण गरिएको छ । 

वन्यजन्तुको अवलोकनका लागि आउने पर्यटकलाई पैदलयात्राको माध्यमबाट वन र वन्यजन्तुको अवलोकन गराउने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो । अमलटारी घरवाससँगै रहेको यस वन क्षेत्रमा पाँच किलोमिटर नयाँ पदमार्ग निर्माण गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कावासोती नगरपालिका–१७ को बजेटबाट पदमार्ग निर्माण गरिएको हो । सो कार्यक्रममार्फत रु तीन लाखको बजेटमा वन क्षेत्रमा १५ दिन लगाएर २४ जनाले पदमार्ग निर्माण गरेको कावासोती–१७ का वडाध्यक्ष छविलाल महतोले बताए ।
 
“चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, नारायणी किनार र अमलटारी घरवाससँगै रहेकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्”, वडाध्यक्ष महतोले भने, “उनीहरुलाई जिप सफारीसँगै पैदलयात्राको समेत अनुभूति दिनका लागि पदमार्ग निर्माण गरिएको हो ।”

अमलटारी क्षेत्र पर्यटकका लागि गैँडा अवलोकनको गन्तव्य बन्दै गएको छ । यस क्षेत्रमा थप पर्यटकलाई आकर्षित गर्न नयाँ योजना निर्माण गरिरहेको वनका अध्यक्ष नरबहादुरले बताए । वनभित्र पैदलयात्रा गर्न चाहने पर्यटकलाई सुरक्षाको उचित प्रबन्ध गरी सोहीअनुसार पैदल सफारी गराइने उनले बताए। 

हाल बन्दाबन्दीको अवस्थाले कतिपयले रोजगारसमेत गुमाएका हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस क्षेत्रमा पदमार्ग विस्तार र वन्यजन्तुका लागि जलाधार क्षेत्रको संरक्षण, सरसफाइका कार्यक्रम सञ्चालन गरिएको छ । 

गुन्द्रही ढकाहासँगै, शान्ति कुञ्ज, कृष्णसार र नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा पदमार्ग विस्तार तथा वन्यजन्तुको संरक्षण र पर्यटक लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको कावासोती–१५ का वडाध्यक्ष देवनारायण महतोले बताए ।
 
कावासोतीको मध्यवर्ती क्षेत्र पर्यटकीय गन्तव्य भएकाले यसलाई लक्षित गरी काम गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताए । 

वडा नं ७, १०, १२, १३, १५ र १७ को बजेटबाट वन क्षेत्रमा पदमार्ग निर्माणको काम गरिएको छ । करिब २० किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण हुनेछ । हाल केही वन क्षेत्रमा पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार प्रणालीमा सूचीकृत १८८ जनालाई १५ दिनका दरले रोजगार प्रदान गरेको संयोजक सापकोटाले बताए। 

बन्दाबन्दीको समयमा विपन्न नागरिकलाई केही भए पनि राहत मिलोस् भनेर १५ दिनका लागि रोजगार प्रदान गरिएको उनले बताए । 

कोभिड–१९ का कारण बन्दाबन्दी हुँदा प्रभावित भई राहत लिइरहेका र प्रधानमन्त्री रोजगार प्रणालीमा सूचीकृतलाई प्राथमिकता दिएर रोजगार प्रदान गरिएको संयोजक सापकोटाले बताए । उनका अनुसार अन्य वडामा समेत बाटो र नाला निर्माण, सिँचाइ कूलो निर्माणलगायतका काम सञ्चालन गरिएको छ । 

“अहिले बन्दाबन्दीको समयमा रोजगार गुमेकालाई प्राथमिकता दिएर काम दिएका छाँै”, संयोजक सापकोटाले भने, “यसले विपन्नलाई केही भए पनि राहत हुनेछ ।”
 

३ बर्ष अगाडि

प्रतिक्रिया