सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज घोषणा

३ बर्ष अगाडि

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले हर कोही स्तब्ध छन् । उनले आत्महत्याको बाटो रोज्नुलाई धेरैले बलिउडमा व्याप्त नातावाद रहेको अरोप लगाएका छन् । गएको केही दिनयता उनका प्रशंसकहरु सोसल मिडियामा उनको न्यायको माग गरिरहेका छन् । यसबीच, सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज मिति घोषणा गरिएको छ । 
 
मुकेश छाबडाको डेब्यू निर्देशित यो फिल्ममा सुशान्तको अपोजिटमा सञ्जना सांघीले अभिनय गरेकी छन् । यो फिल्म आउँदो महिना अर्थात् जुलाई २४ मा रिलिज गरिने भएको छ । यो फिल्म हलमा रिलिज हुन लागेको भने होइन । यसका निर्माताले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न लागेका हुन् । डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने बताइएको छ । 
 
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ रिलिज हुन पाएको थिएन । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो  । अभिनेता सुशान्तको अन्तिम फिल्म भएका कारण दर्शकहरु यो फिल्म हेर्न व्यग्र प्रतिक्षामा छन् । 
 
सन् २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलबाट अभिनय करिअर सुरु गरेका सुशान्तलाई ‘पवित्र रिस्ता’ टेलिश्रृंखलाले लोकप्रियता दिलाएको थियो । सन् २०१३ मा ‘काई पो चे’ फिल्मबाट अभिनेताको रुपमा डेब्यू गरेका उनको करिअरको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म ‘एम।एस धोनीः अनटोल्ड स्टोरी’ हो । उनी अभिनीत ‘छिछोरे’ र ‘केदारनाथ’ पनि रुचाइएका फिल्म हुन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया