गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योग कारवाहीमा

३ बर्ष अगाडि

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ ।

विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो ।

विभागले शुक्रबार रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारवाही गरेको हो । 

जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसार कारबाही गरिएको जानकारी दिए 
। विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १०० उद्योगबाट नमूना सङ्कलन लिएको थियो । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया