नेपोटिज्मको शिकार म पनि हुँ ःसैफ

३ बर्ष अगाडि

बलिउड फिल्म इन्डस्ट्रीमा यतिबेला ‘नेपोटिज्म’ को विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतलगायत कयौं परिचित अनुहारहरुले यस विषयमा आफ्नो धारणा राखिसकेका छन् । बलिउडका दिग्गज कलाकारहरुले पनि ‘नेपोटिज्म’ को बारेमा आफ्नो विचार राख्न सुरु गरेका छन् । यसबीच, अभिनेता सैफ अली खानले यस विषयमा चकित पार्ने खुलासा गरेका छन् । 
 
उनी बलिउडमा लामो समयदेखि सक्रिय छन् र उनको परिवारको पनि फिल्म इन्डस्ट्रीमा एक समय राम्रो बोलबाल थियो । यसको बावजूद पनि सैफले आफू ‘नेपोटिज्म’ को शिकार भएको बताएका छन् । उनले भनेका छन्, ‘नेपोटिज्मको शिकार म पनि हुँ । तर, कसैलाई पनि यसमा चासो छैन । म नाम लिन्नँ तर कयैन् पटक मलाई फिल्ममा नलिन कसैको पिताको फोन आउँथ्यो ।’ 
 
अभिनेता सैफले बलिउडमा व्याप्त ‘नेपोटिज्म’ को कल्चरबाट खुसी नभएको बताएका छन् । उनी थप्छन्, ‘कुनै विशेष वर्गलाई बढी मौका दिनु र प्रतिभावान व्यक्तिलाई छाड्नु राम्रो होइन । नेपोटिज्ममा सबैभन्दा नराम्रो पक्ष के हो भने सक्षम र राम्रा कलाकारलाई छाडेर कमजोर व्यक्तिलाई लिने गरिन्छ । अब मसँग यसको कुनै जवाफ छैन । तर, बलिउडमा यस्तो हुन्छ ।’
 
सैफले सुशान्त सिंह राजपूतको निधनको बारेमा पनि आफ्नो विचार राखेका छन् । उनका अनुसार, सुशान्त स्वयं बलिउडमा नेपोटिज्म रहेको मान्ने गर्दथे । ‘इन्डस्ट्रीमा यो संघर्ष त चलिरहन्छ । मात्र मान्छेलाई सधैं समान अवसर दिनुपर्छ,’ उनी थप्छन्, ‘कयौं आउटसाइडरले पनि बलिउडमा एक अलग स्थान बनाएका छन् । पंकज त्रिपाठी र नवाजको सफलता देखेर मलाई खुसी लाग्छ ।’ 

३ बर्ष अगाडि

प्रतिक्रिया