स्नातक तहमा अध्ययनरत बुहारी र छोरीलाई निःशुल्क शिक्षा

३ बर्ष अगाडि

घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । महाविद्यालय गोकर्णेश्वर–४ मा रहेको स्नातक तहसम्म अध्यापन हुने बहुमुखी सामुदायिक क्याम्पस हो । 

गोकर्णेश्वर नगरपालिकाको महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गतको बजेटबाट शैक्षिक सामग्री वितरण गरिएको उपप्रमुख शान्ति नेपालले बताइन। महिलासँग उपप्रमुख शीर्षकमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाख बजेटबाट नगरपालिकाका नौवटै वडामा आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरेर बाँकी रहेको बजेटले शैक्षिक सामग्री वितरण गरिएको उनले सुनाइन।
 
आयआर्जन कार्यक्रमअन्तर्गत कौसी खेती, अचार बनाउने, जुत्ता सिउने, विभिन्न सामान बुनाईलगायत सीपमूलक तालीम दिइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका करिब ३०० महिला यो तालीमबाट घरमै बसेर स्वआर्जन गर्न सक्षम भएका छन् । शैक्षिक सामग्री वितरण गर्न शुक्रबार आयोजित कार्यक्रममा नगर उपप्रमुख नेपाल, वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री, महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख प्रेमबहादुर श्रेष्ठलगायतले निःशुल्क शैक्षिक सामग्री वितरणले महिला शिक्षामा योगदान दिएको बताए ।
 
नगरपालिकाको सहयोगमा महाविद्यालयमा अध्ययनरत ४२ जना बुहारी एवं छोरीलाई किताब, कापी, झोलालगायत शैक्षिक सामग्री दिइएको हो । वडा नं २ र ४ ले पनि कार्यक्रमका लागि रु एकरएक लाख सहयोग गरेको जनाइएको छ । नगरपालिकाकै सहयोगमा स्नातक तहमा अध्ययनरत सबै छात्रालाई निःशुल्क शिक्षा दिने व्यवस्थासमेत मिलाइएको छ । महाविद्यालयको पूर्वाधार निर्माणका लागि पनि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा पनि महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिइने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया