२५ वर्षकी भइन् स्वस्तिमा

३ बर्ष अगाडि

सन् २०१५ मा प्रदर्शनमा आएको रोमान्टिक फिल्म ‘होस्टल रिर्टन्स’ बाट सहायक अभिनेत्रीको रुपमा अभिनय करिअर सुरुवात गरेकी स्वस्तिमा खड्का शनिवार आफ्नो २५औं जन्मदिन मनाउँदैछिन् । २०५२ साल असार २० गते काठमाडौंमा जन्मिएकी उनलाई जन्मदिनको अवसरमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट शुभकामना दिइरहेका छन् । 
 
शनिवार साँझको १२ बजे उनलाई श्रीमान् निश्चत बस्नेतले फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिएका थिए । निश्चलसँग उनले सन् २०१६ मा लगनगाँठो कसेकी थिइन् । ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर थालनी गरे पनि उनलाई फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतले लोकप्रियता दिलाएको थियो । त्यस्तै, फिल्म ‘छक्का पञ्जा २’ ले उनलाई अभिनेत्रीको रुपमा स्थापित गर्‍यो ।

 
फिल्म ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा समेत ठुम्का लगाएकी स्वस्तिमाले ५ वर्षे फिल्म करिअरमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । ‘लभ लभ लभ’, ‘जय भोले’, ‘नाईं नभन्नू ल ५’, ‘घामड शेरे’, ‘हजार जूनीसम्म’ लगायतका फिल्ममा लिड अभिनेत्रीको रुपमा अभिनय कौशल प्रस्तुत गरेकी उनको करिअरको उम्दा फिल्मको रुपमा ‘बुलबुल’ लाई लिइन्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया