बुटवल हस्पिटलले लुकायो कोरोना संक्रमितको ‘कन्ट्रयाक्ट हिस्ट्री’, त्रासमा स्वास्थ्यकर्मी र बिरामी

३ बर्ष अगाडि

रुपन्देहीको बुटवल हस्पिटल प्रालिले कोरोना भाइरस संक्रमितको ‘कन्ट्रयाक्ट हिस्ट्री’ लुकाएर बिरामी र स्वास्थ्यकर्मीलाई गुमराहमा राखेको फेला परेको छ । असार १३ गते भर्ना भएर एकदिन उपचार गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएका गुल्मीको छत्रकोट ५ का बिरामीको ‘कन्ट्रयाक्ट हिस्ट्री’ लुकाएको हो । 

एकदिन उपचार गरेको बिरामीलाई पछि कोरोना भाइरस संक्रमण पुष्टि भएपनि आफ्नो अस्पतालमा उपचार भएको कुरा सरकारी निकाय र अस्पताललाई समेत जानकारी दिइएको छैन । संक्रमितलाई समेत बुटवल हस्पिटल प्रालिमा उपचार गरेको भन्ने कुरा लुकाउन लगाएर सरकारी नियकालाई गुमराहमा राखेको भन्दै अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र उपचाररत बिरामी त्रसित भएका छन् । 

सरकारी नियम अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएको व्यक्तिसँग संक्रमण पुष्टि हुनु अघि सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट खोज पड्ताल गरि सो आधारमा पहिचान भएकाहरुको पीसीआर जाँच गर्नुपर्ने र उनीहरु क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ । 

तर अस्पतालले सो जानकारी दिएमा आफ्ना स्वास्थ्यकर्मी क्वारेण्टाइनमा बस्नुपर्ने र हस्पिटलको ब्यापार प्रभावित हुने भएकोले संक्रमितले आफ्नोमा उपचार गरेको विषय लुकाएको हो ।

कसले लुकायो ‘कन्ट्रयाक्ट हिस्ट्री ?
ज्वरो र रुघाखोकी लागेपछि गुल्मीको छत्रकोट ५ का एकजना बिरामी गएको असार १३ गते बुटवल हस्पिटल प्रालिमा भर्ना भएका थिए । 
डा. नन्दु पाठकले उपचार गरेका ति बिरामी एकदिन हस्पिटल भर्ना भएपछि अर्कोदिन लुम्बिनी प्रादेशिक अस्पताल पठाइएका थिए । प्रादेशिक अस्पतालमा शंकास्पद केश भन्दै सिधै आईसोलेनमा राखिएका  उनलाई असार १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

तर बुटवल हस्पिटलमा उपचार गरेर शंका लागेका बिरामीलाई आफै प्रादेशिक अस्पताल लगेका डा. पाठकले अस्पतालमा यसबारे कुनै जानकारी गराएका छैनन् । 

आजको अर्थसँगको कुराकानीमा उनले आफूलाई समेत संक्रमितको विषयमा जानकारी नभएको बताए । ‘अघिल्लो शनिबार हामीले हेरेको एकजना बिरामीलाई पुष्टि भयो भन्ने सुनिएको छ तर कसलाई संक्रमण पुष्टि भयो भन्ने जानकारी हामीलाई आएको छैन,’ डा. पाठक भन्छन् । 

तर पाठकले दिएको प्रतिकृया सरासर झुटो भएको बुटवल हस्पिटलका स्थास्थयकर्मीहरुको भनाई छ ।  ‘हाम्रो हस्पिटलमा डा. पाठकले नै त्यो बिरामी हेरेर शंका लागेपछि आफू जागिरे रहेको प्रादेशिक अस्पतालमा लगेर सिधै आईसोलेसनमा राख्नुभएको हो भनेपछि उहाँलाई जानकारी नहुने भन्ने हुन्छ?’, हस्पिटल स्रोत भन्छ, ‘प्रादेशिक अस्पतालले आफ्नै १० औं तहको स्थायी जागिरे जनरल फिजिसियनलाई यस विषयमा जानकारी नदिएको होला ? उहाँले झुट बोल्नुभयो ।’  

हस्पिटलका मेनेजिङ्ग डाइरेक्टर (एमडी) मुक्तिराज पौडेलले पनि आफ्नो हस्पिटलले शंका लागेर रिफर गरेका व्यक्तिलाई कोरोना संक्रमण भएको थाहा नभएको बताए । ‘म यो बिचमा काठमाडौं गएको थिएँ, हामीले पठाएका व्यक्तिलाई संक्रमण पुष्टि भयो भन्ने जानकारी मलाई छैन’, उनले भने । 

हस्पिटलमा सुरक्षा छैन, बिरामी र स्वास्थ्यकर्मी नै त्रासमा
आफ्नो हस्पिटलमा उपचार गरेर पठाएको बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि पनि घटना लुकाएर अन्य व्यक्तिमा संक्रमण फैलन नदिन सुरक्षाका उपाय नअपनाएपछि बुटवल हस्पिटल प्रालिमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र उपचाररत बिरामी त्रसित बनेका छन् । 

संक्रमित व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनीसँगै हस्पिटल पुगेका अन्य बिरामी लगायत कसैको पनि अहिलेसम्म खोज पड्ताल गरि परिक्षण नगरीएको भन्दै उनीहरुले आफूहरु र अन्य बिरामीमा समेत संक्रमण फैलन सक्ने त्रास रहेको बताए । 

‘हस्पिटल आइसकेपछि हामीपनि प्रत्यक्ष सम्पर्कमा आयौँ तर अहिलेसम्म न हामीले हेरेको बिरामीमा संक्रमण पुष्टि भयो भनेर जानकारी दिईयो, न जाँच गरियो’, हस्पिटलका एक स्वास्थ्यकर्मी भन्छन् ‘यसरी ढाँटेर हामीले अरु बिरामीलाई कसरी सुरक्षित राख्न सक्छाैं ?’ 

ति व्यक्तिको उपचारमा आफू सँलग्न भएको बताउने डा. पाठक भने आफूले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गरेकोले त्रास नभएको बताउँछन् । यस विषयमा हस्पिटलका डा. र एमडी पौडेलको भनाई बाझिएको छ ।

बुटवल अस्पताल प्रालिका एमडी पौडेल अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी सबैले पीपीई तथा व्यक्तिगत सुरक्षाका सामग्री राम्रोसँग प्रयोग गर्ने नगरेको स्विकार गर्छन। ‘सबै स्वास्थ्यकर्मीले पीपीई लगाएर मात्र उपचार गर्नुहुन्छ भन्ने छैन,’ उनले भने । 

हस्पिटलका अर्का एक स्वास्थ्यकर्मीले संक्रमण पुष्टि भएका व्यक्तिलाई अस्पताल पुगेपछि जाँच्ने र उपचार गर्ने प्रकृयामा अन्य स्वास्थ्यकर्मीको पनि संलग्नता रहेकोले यस्तो गम्भिर विषयमा लापरबाही गर्न नहुने धारणा राख्छन् । ‘जाँच पो डाक्टरसा’पले गर्नुभयो, तर उनको टिकट लिनेदेखि उपचारसम्म सबै उहाँले त हेर्नुभएन’, उनी भन्छन्, ‘यदी ति बिरामीबाट हामीमा संक्रमण फैलिएको भए त हस्पिटलमा आउने अन्य धेरै बिरामीलाई संक्रमण फैलन सक्छ ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुनै पनि स्वास्थ्यकर्मीले बिरामी जाँच्ने क्रममा सुरक्षाको उपाय ‘प्रिकसन’ नअपनाएको र उक्त बिरामीलाई संक्रमण फेला प¥यो भने उक्त स्वास्थ्यकर्मीले बिरामी जाँच गर्न नपाइने र क्वारेण्टाइनमा बस्नुपने हुन्छ । ‘यदि प्रिकसन लिएको छैन भने त्यस्तो अबस्थामा जो कन्ट्रयाक्टमा छन् उसको टेष्ट गर्ने हो, तिनीहरुले अरु बिरामी हेर्न मिल्दैन,’ उनले भने, ‘पीपीई लगाएर गरेको छ भने पोजेटिभ भेटिएपनि अरु बिरामी हेर्न मिल्छ ।’

तर बुटवल हस्पिटल प्रालिले सबै नियम उल्लंघन गर्दै विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जाँच तथा उपचारमा गम्भिर लापरबाही गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया