पर्यटकको रोजाइमा मुसिकोट दरबार

५ बर्ष अगाडि

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणका लागि पुरातत्व विभागले काम गर्न थालेपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेका छन् । 

दरबार रहेको मुसिकोट डाँडामा यस वर्ष पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा ७६ मिटर सडक निर्माण गरिएको छ । सडक निर्माण गर्न पहिलो चरणमा पुरातत्व विभागले रु १० लाख अनुदान उपलब्ध गराएको मुसिकोट दरबार संरक्षण समितिका अध्यक्ष लोकेन्द्र मल्लले जानकारी दिनुभयो । सडक बनेपछि मुसिकोट डाँडा घुम्न आउने पर्यटकलाई सहज भएको छ । 

सशस्त्र द्वन्द्वको समयमा करीब पाँच वर्ष नेपाली सेनाले सो डाँडामा अस्थायी क्याम्प बनाएको थियो । शान्ति प्रक्रियापछि सेनाको क्याम्प यहाँबाट हटाइएको छ । अहिले मुसिकोट दरबारको संरक्षणका लागि स्थानीयवासी र विभिन्न सरोकारवाला एकजुट भएका छन् । गत वर्ष भदौदेखि दरबार संरक्षण समितिले अवलोकनका लागि शुल्क लिन थालेको छ । गत आवमा रु एक लाख २५ हजार आम्दानी भएको समितिले जनाएको छ । सो आम्दानीबाट वृक्षरोपण, गोडमेल, मूर्ति निर्माण तथा मन्दिर व्यवस्थापन गर्न सहयोग पुगेको छ । प्रवेश शुल्क लिन थालेदेखि हालसम्म बाह्य तथा आन्तरिक गरी आठ हजारभन्दा बढीले मुसिकोट डाँडा अवलोकन गरेका छन् । 

दुई हजार ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको सो डाँडाको चारैतिर तारजाली लगाइएको छ । डाँडाभित्र ऐतिहासिक मठ मन्दिर, त्रिशूल, बालउद्यान, मुसी, बँदेलगुफा, नागको प्रतिमालगायतको अवलोकन गर्न सकिन्छ । डाँडा अवलोकन गर्न दिनहुँ १०० भन्दा बढी पर्यटक आउने गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया