सिन्धुपाल्चोक बाढी :  २ को मृत्यु , १५ घर बगे र १८ जना बेपत्ता

३ बर्ष अगाडि

सिन्धुपाल्चोकमा गए राति बाढीले १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका २० जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।

स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । ‘अझै १८ जना बेपत्ता छन्, उनीहरूको सेना र स्थानीय मिलेर खोजी गरिरहेका छन्,’ उनले भने । तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको पौडेलले बताए ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गइरहेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ‘जम्बुलगायत तातोपानी क्षेत्र जान मानेस्वाराको बाटो प्रयोग गर्नुपर्ने हुन्छ, त्यहाँसम्म गएपछि आधिकारिक विवरण आउनेछ,’ उनले भने ।

सेना र सशस्त्र प्रहरीको टोली भने घटनास्थल पुगिसकेको उनले सुनाए । त्यसै गरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ । ‘सबैतिरको यकिन विवरण आइसकेको छैन, ठूलो जनधनको क्षति भएको छ,’ न्यौपानेले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया