बलिउड फिल्म ‘यारा’ मा मरिश्का ः  टिजर रिलिज

३ बर्ष अगाडि

नेपाली फिल्मकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । एक्सन प्याक्ड टिजरमा उनलाई एक सेकेण्ड मात्र स्थान दिइएको छ । टिजरको ५२ सेकेण्डमा क्लबभित्र उनलाई एक युवकले चुम्बन गर्दै गरेको देख्न सकिन्छ । टिजरमा उनले पाएको स्क्रिन स्पेश हेर्दा फिल्ममा उनी ‘सो(पिस’ को रुपमा रहेको अनुमान गर्न सकिन्छ ।
 
टिजरमा एक सेकेण्ड देखिँदा पनि मरिश्का भने खुसी छिन् । उनले फेसबुकमा गएको पाँच वर्षदेखि आफू यो पलको प्रतिक्षामा रहेको बताएकी छन् । ‘यारा’ मा आफूले निभाएको चरित्रका लागि अडिसनबाट छानिएको उनले उल्लेख गरेकी छन् । टिजरमा आफूलाई स्थान दिएकोमा निर्माण टिमलाई धन्यवाद दिँदै उनले यो फिल्म आफ्नो लागि निकै महत्त्वपूर्ण रहेको बताएकी छन् । 
 
उनले लेखेकी छन्, ‘५ वर्ष अगाडि जब मैले २ वटा मात्र फेशन शो गरेको थिएँ, क्यामेराको कुनै अनुभव थिएन । आमाको सहयोगले मैले फिल्मको अडिसन दिएँ र तीन दिनपछि मलाई यो भूमिकामा छानिएको भनेर फोन आएको थियो । त्यसबेला मेरो खुसीको कुनै सीमा थिएन । यो प्रोजेक्ट मेरो लागि निकै महत्त्वपूर्ण छ । म विहानदेखि घरभन्दा बाहिर खुसीले उफ्रिरहेको छु ।’ 
 
फिल्म ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । ट्रेलरमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य देख्न सकिन्छ । बलिउडका एक्सन स्टार विद्युत जामवालको प्रमुख भूमिका रहेको फिल्मलाई तिग्मांशु धूलियाले निर्देशन गरेका हुन् । फिल्ममा श्रुति हासन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमिका छ । ट्रेलरमा चार साथीको कहानी देखाइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया