‘झ्यानाकुटी २’ मा पनि सौगात र बेनिशा !

३ बर्ष अगाडि

अभिनेत्री निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ ले बक्सअफिसमा सुखद नतिजा हात पार्न सकेको थिएन । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको बैबाहिक जीवनमा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित थियो । सिमोस सुनुवार निर्देशित यो फिल्मको अब दोस्रो सिरिज निर्माण हुने भएको छ । लेखक प्रदीप भारद्धाजले फिल्मको स्क्रिप्ट तयार पारिसकेका छन् । 
 
तर, निर्माण टिमबीच फिल्मको सिक्वेल बनाउने वा प्रिक्वेल भन्ने विषयमा छलफल भइरहेको छ । निर्देशक सुनुवार भन्छन्, ‘अहिले हामी सिक्वेल बनाउने वा प्रिक्वेल भन्ने विषयमा छलफल गरिरहेका छौं । लेखक प्रदीपजीले सिक्वेलका लागि स्क्रिप्ट तयार पार्नुभएको छ । म चाहिँ प्रिक्वेल बनाउने पक्षमा छु । सौगात र बेनिशाको विवाह अगाडिको कथा भन्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।’ 
 
सुपरहिट नभएको फिल्मको दोस्रो सिरिज बनाउने जोखिम किन उठाउन लाग्नुभएको रु भन्ने प्रश्नमा निर्देशक सिमोस भन्छन्, ‘हो, फिल्मको इनिसियल व्यापार राम्रो भएन । अरु फिल्म जस्तो सुपरहिट पनि भएन । तर, फिल्मको कमाईबाट हामी सन्तुष्ट छौं । फिल्म ५ हप्तासम्म हलमा चलेको थियो । म स्वयंलाई पनि फिल्म मन परेको थियो । दर्शकहरुले पनि रुचाउनुभएको थियो ।’ 
 
फिल्मको सिक्वेल वा प्रिक्वेल जुन बने पनि सौगात र बेनिशा नै दोहोरिने निर्देशक सुनुवारको भनाई छ । लेखक प्रदीप भारद्धाज आफूले लेखेका स्क्रिप्टमा बनेका फिल्ममध्ये ‘झ्यानाकुटी’ बाट सबैभन्दा सन्तुष्ट रहेको बताउँछन् । उनी स्वयंले यो फिल्मको सिक्वेलको इच्छा देखाएका थिए । दर्जनौं फिल्मको कथा लेखिसकेका उनी अहिलेका सबैभन्दा व्यस्त र महँगा स्क्रिप्ट राइटर हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया