विद्युत् महसुलवापत रु २१ करोड  सङ्कलन

३ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६र७७ मा विद्युत् महसुलवापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । 

प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत् बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत्मध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ युनिट विद्युत् बिक्रीबाट रु नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताए । कार्यालयले असार महिनामा मात्रै विद्युत् महसुलवापत रु दुई करोड ६५ लाख ३९ हजार ८३ सङ्कलन गरेको छ ।
 
गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६र७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताए । प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताए । 

गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत् महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उनले बताए । हाल गैँडाकोटका वडा नं १० देखि १८ सम्मको विद्युत् महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नति गर्न समस्या परेको रिजालको भनाइ छ ।
 
नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६र७७ मा ३६३ ग्राहकको विद्युत् लाइन काटेको छ । तीन महिनाभन्दा बढी समयको विद्युत् महसुल भुक्तानी नगर्ने तथा रु पाँच हजारभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । विद्युत् लाइन काटिएका ग्राहकबाट रु ४७ लाख ६० हजार बराबरको रकम उठाउन बाँकी रहेको उनले बताए ।
 
आर्थिक वर्ष २०७६र७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्रभित्र २० जनाले विद्युत् चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट रु एक लाख ५० हजार जरिवाना सङ्कलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया