अभिनयबाट गायिकाको रुपमा फड्को मार्दै : अभिनेत्री अनु शाह

३ बर्ष अगाडि

गायनको बाटो हुँदै फिल्ममा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । फिल्म क्षेत्रमा स्थापित कलाकारहरु पनि आफ्नो सौख पूरा गर्न गायकरगायिका बनेका छन् । रेखा थापा र निरुता सिंह यसका उदाहरण हुन् । उनीहरुले अभिनयसँगै गीतमा अवाज पनि भरेका छन् । तर, न गायनमा लाग्नेलाई फिल्म क्षेत्र फापेको छ न त कलाकारको गायनलाई दर्शकले रुचाएका छन् । 
 
फिल्म अभिनयबाट गायिकाको रुपमा फड्को मार्नेमा अभिनेत्री अनु शाह पनि थपिएकी छन् । एक दर्जनको आसपासमा फिल्ममा अभिनय गरिसकेकी उनले बुधवार एउटा गीत रेकर्ड गरेकी छन् । रंग पत्रकार शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीतमा रहेको ‘मेरो सम्झनामा’ बोलको गीतमा उनले आवाज दिएकी हुन् । उक्त गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन् । 
 
बाल्यकालदेखि नै गायनमा रुची भएको बताउने अनु पहिलो पटक गीतमा आवाज भर्न पाएकोमा प्रफुलित छिन् । उनी आफूलाई घरभित्रको राम्रो गायिका भन्न रुचाउँछिन् । स्टूडियोमा गएर भने अहिलेसम्म गाउने हिम्मत नगरेको उनको भनाई छ । गीतकार शान्तिप्रियले राम्रो गीत गाएको भनेर प्रशंसा गरेपछि खुसी भएकी उनी दर्शकले पनि आफ्नो आवाज रुचाउनेमा विश्वस्त छिन् । 
 
गायनमा लाग्न कठोर साधना चाहिन्छ । अनुले गायिका बन्न संगीतमा कति साधना गरेकी छन्, गीत सार्वजनिक भएपछि त्यो थाहा हुने नै छ । तर, परिवारले स्वर राम्रो छ भनेर फुरुङ्ग बनाएको भरमा सिधै स्टूडियो छिरेकी हुन् भने उनले दर्शकबाट तालीको अपेक्षा राख्नु बेकार हुनसक्छ । खैर, फिल्म करिअर सुखद नभएको अवस्थामा उनको गायन यात्रा सफल रहोस्, शुभकामना ।

३ बर्ष अगाडि

प्रतिक्रिया