वर्षालाई फिल्मको छायांकन जुध्ने पिरलो

३ बर्ष अगाडि

नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा सिवाकोटीलाई फिल्म क्षेत्रमा ‘फ्लप फिल्मकी हिट हिरोइन’ भन्ने गरिन्छ । उनी प्रमुख भूमिकामा रहेका कुनै फिल्म सफल नहुनु र यसका बावजूद फिल्मविहीन हुनु नपरेका कारण उनलाई यो ट्यागलाइन लागेको हो । एकपछि अर्को फिल्म असफल भएपछि प्रायः कलाकार कामविहीन हुन्छन् । वर्षाको हकमा भने ठीक उल्टो छ । 
 
साइन गरेको फिल्म छाड्न पनि सिपालु मानिने उनी लकडाउनभन्दा अगाडि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । यसमा उनको जोडी गायकबाट नायक बन्न लागेका प्रकाश सपूतसँग बाँधिएको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी पनि छिन् । कोरोनाका कारण सरकारले लकडाउन गरेपछि रोकिएको फिल्मको छायांकन अब कहिलेबाट सुरु हन्छ, कुनै निश्चित छैन । 
 
‘परदेशी २’ भन्दा अगाडि उनी ‘चालबाज’ को छायांकनमा व्यस्त थिइन् । यो फिल्मको छायांकन पनि पूरा भइसकेको छैन । ‘परदेशी २’ पछि उनले रमेश बुढाथोकीको निर्देशनमा फिल्म ‘सुदूर’ गर्ने फाइनल भएको थियो । उनले मिलन चाम्ससँग फिल्म ‘गोर्खा वारियर’ का लागि पनि सम्झौता गरेकी छन् । तर, कोरोनाका कारण यी सबै फिल्मको छायांकन सेड्युल विग्रिएको छ ।
 
फिल्म क्षेत्र खुलेपछि ‘गोर्खा वारियर’ बाहेक वर्षाले साइन गरेका अन्य फिल्म फ्लोरमा निस्कने तयारीमा छन् । यो अवस्थामा उनलाई फिल्मको छायांकन सेड्युल मिलाउन सकस पर्न सक्नेछ । छायांकन जुध्ने अवस्था आए उनले कुनै एक फिल्म छाड्नु पर्ने पनि हुनसक्छ । अहिले वर्षालाई यही पिरलोले सताएको छ । यसबाट उनले भकाभक फिल्म साइन गर्नु हुन्न भन्ने पनि बुझिन् कि ।

३ बर्ष अगाडि

प्रतिक्रिया