पत्रकार सुवेदीविरुद्ध  कलाकार संघमा पुजाले दिइन् उजुरी

३ बर्ष अगाडि

एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले अपमानजनक र अशोभनीय शब्द प्रयोग गरेपछि फिल्मकर्मीहरु उनको विरोधमा उत्रिएका छन् । पत्रकार सुवेदीले कार्यक्रममा कसैको नाम उच्चारण नगरी ‘दारे’ शब्द प्रयोग गरेका थिए । उनले आफूप्रति लक्षित गरेर उक्त टिप्पणी गरेको पूजाको प्रतिक्रियापछि फिल्मकर्मीहरु उनको समर्थनमा उभिएका छन् ।
 
यसबीच, अभिनेत्री शर्माले आइतवार पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् । निर्देशक सुदर्शन थापाको साथमा संघ पुगेकी उनी निकै भावुक भएकी थिइन् । पत्रकार सुवेदीले कार्यक्रममा प्रयोग गरेको शब्दले आफ्नो अपमान भएको ठानेर उजुरी दिएको उनको भनाई छ । उनले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् ।

अभिनेत्री पूजाले भनेकी छन्, ‘प्रकाश दाईसँग ३ महिना अगाडि दिएको अन्तर्वार्ताका म कारण ट्रोलको शिकार भएको थिएँ । जसले गर्दा मैले मानसिक तनाव भोगिरहेको थिएँ । फेरि उहाँले मलाई अन्तरर्वार्ताका लागि बोलाउनुभयो, म जान मानिनँ । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो र अब लड्छु भन्ने निर्णय गरेँ ।’
 
अभिनेत्री पूजाको निवेदन लिँदै कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले उनलाई न्याय दिने आश्वासन दिएका छन् । उनले सञ्चारकर्मीसँग भने, ‘भोली प्रकाशजीले कार्यक्रममा कसैको नाम लिएको छैन भन्दै पन्छिन खोज्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो फिल्म क्षेत्रलाई होच्याउनुभएको छ । हामी आकस्मिक बैठक बसेर यो विषयमा के गर्ने भनेर निर्णय लिनेछौं ।’
 
त्यस्तै, निर्देशक थापाले पत्रकार सुवेदीले यसअघि पनि पूजामाथि शब्दमार्फत् ह्यारेस्मेन्ट गरेको आरोप लगाए । ‘कसैलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइँदैन । पूजाको ठाउँमा उहाँले आफ्नो छोरीलाई राखेर त्यसप्रकारको शब्द प्रयोग गर्न सक्नुहुन्छ ? पत्रकारले अन्तरर्वार्तामा बोलायो भन्दैमा जानै पर्छ भन्ने छ र ?,’ उनले भने । पूजाको लडाईंमा आफू साथमा रहेको उनले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया