जापानबाट आएका व्यक्तिलाई धम्क्याएर वडाध्यक्षले असुले ४ लाख, यौन दुर्व्र्यहारको झुट्टा मुद्धा लगाउने धम्की

३ बर्ष अगाडि

गुल्मीको मुसिकोट नगरपालिकामा एकजना वडाध्यक्षले झुटो आरोपमा फसाएर जापानमा रोजगारी गर्ने व्यक्तिबाट चर्को रकम असुलेको तथ्य सार्वजनिक भएको छ ।

नगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश काफ्लेले जापानबाट विदामा आएका मुसिकोट ४ बडागाउँ, पाखीडाँडाका अर्जुनबहादुर कार्कीलाई झुटा आरोपमा फसाएर रु ४ लाख असुलेको घटना सार्वजनिक भएको हो ।

ढिलोगरी सार्वजनिक भएको घटना अनुसार वडाध्यक्ष काफ्लेले महिलामाथी अभद्र व्यवहार गरेको आरोप लगाएर तर्साउँदै व्यक्तिबाट सो रकम असुल गरी दुरुपयोग गरेको खुलेको छ ।

घटना गत वर्षको माघ २० गतेको हो । त्यतिबेला मुसिकोट महोत्सव चलेको थियो । मदिरा सेवन गरेर महोत्सव हेर्न पुगेका कार्कीले वामीटक्सारमा रहेको श्रीकृष्ण स्टोरमा सामान किन्ने क्रममा पसल सञ्चालक महिलामाथी अभद्र व्यवहार गरेको आरोप लगाइयो । वडाध्यक्ष काफ्ले आफैले प्रहरी चौकीमा थुुनाएर रकम असुलेको उनको आरोप छ ।

‘पसलमा एकदम भिडभाड भएको कारण मैले उहाँलाई मलाई चाँडै सामान दिनुस भनेको देख्नेहरु पनि छन । मैले मदिरा सेवन गरेपनि आमा जापानमा रहेको दुधे बालक घरमा सुताएर गएकोले सम्हालिन नसक्ने र अभद्र व्यवहार गर्ने अबस्थामा थिइन’, उनी भन्छन्, ‘तर मलाई महिला माथी अभद्र व्यवहार गरेको भनेर एकाएक आरोप लगाइयो, काफ्लेले मोवाइल फाल्दिनुभयो र चौकीमा थुनाइयो ।’

कार्कीका अनुसार वडाध्यक्ष काफ्लेले महिलामाथी दुव्र्यबहार गरेको मुद्धामा फसाएउने र जापान जाने भिसा रोकेर १० वर्ष जेल हालिदिने भन्दै १६ लाखबाट बार्गेनिङ्ग गरेको अन्त्यमा ४ लाख असुलेका थिए । ‘आमालाई जापानमै छाडेर ल्याएको अढाइ वर्षको दुधे बालक घरमा छाडेको थिएँ, अरु सँग नमान्ने बच्चा म चौकीमा बसेपछि कति रोयो होला । मलाई त्यहि मौका पारेर वडाध्यक्ष काफ्लेले १६ लाख दिनुपर्छ नत्र मुद्धा चलाउँछु भनेर बार्गेनिङ्ग गर्नुभयो’, उनले भने, ‘त्यहाँ अरु मान्छे र वडाध्यक्षहरु पनि हुनुहुन्थ्यो तर अरुको केही दोष छैन, सबै गर्ने काफ्लेले हो ।’

स्थानीय तहको उपाध्यक्ष वा उपप्रमुख न्यायीक समितिको संयोजक रहने व्यवस्था सहित अर्धन्यायीयक अधिकार हुन्छ । तर वडाध्यक्ष काफ्लेले उक्त घटनाको विषयमा केही नबताएको नगरपालिका उपप्रमुख कमला शर्मा बताउँछिन् । उनले आफूलाई आधिकारीक रुपमा घटनाको विषयमा थाहा नभएपनि हालैमात्र थाहा पाएपछि प्रत्यक्षदर्शी महिलाहरुसँग सोधखोज गर्दा उक्त कार्य न्यायसम्मत नभएको बताइन् । ‘घटना घटेको यतिका समयसम्म मलाई यसविषयमा कसैले जानकारी नगराएपनि अहिलेमात्र पिडीतले फोन गरेपछि प्रत्यक्षदर्शी महिलाहरुको कुरा सुन्दा मलाई उहाँमाथी अन्याय भयो भन्ने लागेको छ ’, उनले भनिन् ।

छलफलमा सँलग्न मध्येका एक वडाध्यक्षका अनुसार सो दिन मदिरा सेवन गरेर पसलमा पुगेका कार्की पसलमा भिडभाड भएको कारण सामान माग्नेक्रममा महिलालाई हातैले छोएका थिए । त्यो उनको नियत नभएपनि महिलाले दुव्र्यवहारको रुपमा लिएपछि होहल्ला भएको थियो । दुव्र्यवहार गर्ने नियत नभएको भन्द नछोएको बताउँदै कार्कीले महिलासँग माफी पनि मागेका थिए । सो कुरा कार्की आफैले स्विकार्छन ।

तर वडाध्यक्ष काफ्लेले कुटपिट गरेर मोवाइल समेत खोस्न थालेपछि कार्कीले हो हल्ला गरे । आफूलाई विनाकारण कुटिएको भन्दै हो हल्ला गर्न थालेपछि मदिरा सेवन गरेर हो हल्ला गरेको भनेर सामान्य नसिहतका लागि उनलाई प्रहरी चौकीमा पु¥याइयो । तर थुनामा पु¥याएपछि काफ्लेले बार्गेनिङ्गको लागि महिलामाथी दुव्र्यवहार गरेको र मागेको रकम नतिरेमा जेल हालिदिने भनेर बार्गेनिङ्ग गर्न लगाएका थिए ।

वामीटक्सार प्रहरी चौकीमा गरिएको सहमतिपत्रमा महिलामाथी हातपात भएको कुरा उल्लेख छैन । चौकीमा छलफलमा उपस्थित भएका अन्य जनप्रतिनिधिले नसिहतका लागि प्रहरी चौकीमा एउटा पानीको ड्रम किन्ने प्रस्ताव राखेका थिए । तर काफ्लेले बार्गेनिङ्ग गर्दै ४ लाख रुपैयाँ असुलेको नाम नबताउने शर्तमा एक वडाध्यक्ष बताउँछन् । काफ्लेले उक्त रकमबाट २०७७ साउन महिनाभित्र वामीटक्सार बसपार्कमा प्रतिक्षालय निर्माण गर्ने भनेपनि अहिलेसम्म निर्माण नभएपछि कार्की आफैले यो कुरा सार्वजनिक गरेका हुन् ।

‘मलाई कमाइखाने बाटो जापानजान बन्द गरिदिन्छु भनेर डरधम्की देखाएर रकम लिएपनि विकासको काम हुन्छ भने ठीकै छ भनेर दिएको थिएँ, तर अहिलेसम्म प्रतिक्षालय निर्माण नभएपछि म आफै यो कुरा सार्वजनिक गरेको छु’, उनले भने, ‘मैले गल्ती गरेको हुन्थेँ भने त मलाई छोड्हुन्थ्यो र उहाँले ?’

मिलापत्रको कागजमा उक्त रकम हातपात गरीएको भनिएका महिलाका श्रीमान श्रीकृष्ण सापकोटाले बुझेको लेखिएको छ । तर सापकोटाले रकम आफुसँग नभएको र अन्यत्रै सुरक्षित रहेको बताउँछन् तर को सँग छ भन्ने कुरा खुलाउन चाहँदैनन् ।

न्यायीक समिति संयोजक रहेकी नगर उपप्रमुख शर्माले मान्छेलाई जरिवाना तिराएर, अन्यायमा पारेर विकासका काम गर्नुपर्छ भन्ने मान्यता गलत भएको बताइन् ।

यता वडाध्यक्ष काफ्लेले भने आफू घटनाको प्रत्यक्षदर्शी भएको र आरोपीतलाई प्रहरीमा बुझाएर हिँडेकोले रकम असुलेको विषयमा जानकारी नभएको बताए । ‘हातपात गर्नेबेलामा म थिएँ र पुलिस बोलाइदिएँ, त्यसपछि त्यो केसमा म छैन’, उनले भने ।

अहिले फेरी सबैतिरबाट कार्कीमाथी अन्याय भयो भनेर दवाव परेपछि अहिले काफ्लेले यौन दुव्र्यबहारको मुद्धा चलाउनुस भनेर महिलालाई उचालेको जनप्रतिनिधिहरु नै बताउँछन् । ‘हामीले वास्तविक कुरा बुझेपछि कार्कीको रकम फिर्ता गर्नुपर्छ भनेर प्रस्ताव राख्यौँ तर अहिले फेरी महिलालाई यौन दुव्र्यहारको मुद्धा दर्ता गराउनुस भनेर काफ्ले जी ले भनेको कारण घटना मिलाउन सकिएको छैन’, आफ्नो नाम नबताउने शर्तमा एक जनप्रतिनिधि भन्छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया